शहीद दिवसमा चितवनका तीन स्रष्टासँग सम्वाद

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, १४ : २८
शहीद दिवसमा चितवनका तीन स्रष्टासँग सम्वाद

कावासोती । नवलपरासी (सुस्तापूर्व) को कावासोतीमा शुक्रबार शहीद दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चितवनका तीन जना स्रष्टासँग सम्वाद गरिएको छ ।

साधना संगम नवलपुरसँगको सहकार्यमा सायरा इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा मोसो उपन्यासका लेखक सूर्यप्रकाश कँडेल, एकान्तवास लकडाउन डायरीका लेखक विनोदबाबृु रिजाल र कुमाता कथा संग्रहका लेखक वसन्त पराजुलीसँग सम्वाद गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले कुनैबेला आफूले पनि पत्रकारिता गरेको सम्झना सुनाए । ‘मैले पनि विकृति र विसंगतिका विरुद्धमा कलम चलाएको छु’ लामिछानेले भने, ‘अहिलेका पत्रकारले पनि विकृतिका विरुद्ध अविराम कलम चलाउनुपर्छ ।’ 

तीनै जना पत्रकारले पत्रकारिता सँगसँगै पुस्तक लेखनमा पनि अग्रसर हुनुभएकोमा आफ्नो पेशा प्रति ठूलो उपलब्धि भएको उनले बताए । ‘हरेक पत्रकारले आफ्नो पेशासँगसँगै नयाँपन र खोजी सहितको सामग्री किताबका रूपमा ल्याउन जरुरी छ’ लामिछानेले भने, ‘धेरै पछि यसरी साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफूमा सिर्जनात्मक उर्जा थपिएको छ ।’

कार्यक्रमका विशिष्ट अतिथि एवं वयोवृद्ध साहित्यकार दीपक सोतीले साहित्यले राजनीतिलाई निर्देशित गर्नु पर्ने विचार व्यक्त गरे । नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सभापति भूपेन्द्र शर्मा भट्टराईले स्रष्टाहरुलाई प्रोत्साहित गर्नु पर्ने बताए ।

साहित्यकार कृष्णादेवी शर्माले नेपाली साहित्यको जगमा तीन वटा चम्किला इँटा थपिएको बताइन् । अर्का साहित्यकार षडानन्द अभागीले स्रष्टाले कृतिमा पोखेका भावना समाजका लागि उपयोगी हुने बताउँदै लेख्दै गएपछि स्वतः लेखनीमा परिमार्जन हुँदै जाने धारणा व्यक्त गरे ।

लेखकहरुसँगको सम्वादका क्रममा काशीराम गैरे र वेदप्रसाद ढकालले तीनै जना लेखकलाई पुस्तकहरु किन लेखिए भन्दै प्रश्न गरेका थिए । पुस्तकको शीर्षक चयनमा पनि उनीहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा तीनै जना लेखकले पुस्तक लेख्नुको कारण र पुस्तकको रचनागर्भ जानकारी गराएका थिए । लेखकत्रय चितवनमा पत्रकारिता पेशामा क्रियाशील व्यक्तित्व हुन् ।

मोसो उपन्यासमा पत्रकार कँडेलले पत्रकारिताका नराम्रा पक्षलाई प्रेमकथासँग मिसाएर प्रस्तुत गरेका छन् । एकान्तवास पत्रकार रिजालको लकडाउन डायरी हो । एकान्तवास र मोसोलाई युरेका पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

कुमातामा पत्रकार पराजुलीले सामाजिक र समसामयिक बिषयवस्तुमा आधारित रहेर लेखेका कथा छन् । यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । यी तीन वटै पुस्तक अहिले चितवनमा सर्वाधिक बिक्री भएका पुस्तक मानिन्छन् । 

पत्रकारहरूले लेखेका पुस्तक भएकोले नवलपुरका पत्रकार एवम् पाठकमाझ चिनाउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सायरा मिडिया एण्ड इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक रमेशचन्द्र बस्ताकोटीले बताए ।

बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साधना संगमका अध्यक्ष अर्जुन अविरलले स्वागत र सत्य कलम डट कमका सम्पादक शालिकराम कोइरालाले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन पत्रकार प्रमिला अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस