हार्दिक श्रद्धाञ्जली

अस्ताए काजीबा, प्रचण्डले दिए श्रद्धाञ्जली

सूर्यप्रकाश कँडेल

मंगलबार, १३ माघ २०७७, १२ : ३८
अस्ताए काजीबा, प्रचण्डले दिए श्रद्धाञ्जली

चितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । काजीबालाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार थिए ।

आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका ११ सन्तानमध्ये कान्छा काजीबाको जन्म १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा भएको थियो । २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका खम्बासिंहका सात जना दाजु र तीन जना दिदीले यो संसार छाडिसकेका छन् ।

पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका छन् ।

बाल्यकालमा गाउँमा विद्यालय नभएको कारण खम्बासिंहले पण्डित लोकनाथ भण्डारीबाट अक्षर चिनेर चण्डी, दुर्गाकवच लगायतका पुस्तक पढे । २००० सालमा लमजुङकी धीरा थापासँग लगनगाँठो कसेका थिए । बिहेपछि २००६ सालमा भारतको गोरखपुरमा गई भारतीय सेनामा भर्ती भएका कुँवर चार वर्ष सैनिक जीवन व्यतित गरेपछि २०१० सालमा घर फर्किएका थिए । 

२०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर कम्युनिष्ट आन्दोलनमा सक्रिय कुँवर २०१४ सालमा पुनः गोरखपुर पुगेर होटल व्यवसायमा लागे । व्यवसायमा सफलता पाउन नसकेपछि २०१५ सालमा चितवन झरेका कुँवर त्यसपछि पार्टीकै काममा व्यस्त रहेका थिए ।

२०१८ सालमा नेपाली काँग्रेसले आन्दोलनकै क्रममा चितवन कब्जा गर्ने घोषणा गरेपछि केही काँग्रेसी नेतासँगै कुँवर पनि पक्राउ परे । खम्बासिंह पक्राउ परेको खबर उनका भतिजा नेपाली सेनाका सुबेदार चन्द्रसिंह कुँवरले थाहा पाए । सुबेदार चन्द्रसिंहले त्यतिबेला ‘उहाँ मेरो काका हुनुहुन्छ, काँग्रेस होइन’ भनेर खम्बासिंहलाई जोगाएका थिए । 

सेनाको गिरफ्तारी र त्यसबाट पाएको छुट्काराले खम्बासिंहलाई विचलित बनाएन । उनी पार्टीको काममा खट्न छाडेनन् । 

२०३१ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन भारतको बनारसमा भएको थियो । चौथो महाधिवेशनमा चितवनबाट चार जना नेता सहभागी भएका थिए । ती चार जनामा नरबहादुर खाँड, विष्णु घिमिरे, इन्द्रविलास पौडेल र खम्बासिंह कुँवर थिए । 

चौथो महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका कुँवर त्यही वर्ष पोलिटब्युरो सदस्य भएका थिए । खम्बासिंहकी श्रीमती धीराको २०७४ साल असार १० गते निधन भइसकेको छ । उनका एक छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस