दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित

रासस

विहीबार, ०८ माघ २०७७, १३ : ५१
दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित

file photo

बागलुङ । दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ । 

केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसानका समूह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो । अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । आठ सहकारीमा आवद्ध ८ सय किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

अनुदानलाई किसानसम्म पु¥याउन केन्द्रले दूध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । “गत आर्थिक वर्षमा तीन वटा सहकारीले मात्रै मापदण्ड पूरा गरेर अनुदान पाएँ”, पौडेलले भने, “यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ, सबैले मापदण्ड पूरा गरेर प्रस्ताव पेश गरेका छन् ।” केन्द्रले दिने अनुदान पाउन सहकारीले एक महिनामा कम्तीमा २०० लिटर दूध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्नेछ ।

हरेक महिना सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादक सहकारी, नमूना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । “अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउछन्, बजेट पर्याप्त भएकाले समस्या हुँदैन्”, उनले भने, “अझै धेरै किसान मापदण्ड बाहिर हुनुहुन्छ, उहाँहरुसमेत आउने क्रम जारी छ ।” दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । 

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने केन्द्रले जनाएको छ । उत्पादन र बिक्री वितरणको तथ्याङ्क सहकारीले राख्नेछन् । सहकारीले पठाएको तथ्याङ्कको आधारमा केन्द्रले सिधैँ खातामा रकम जम्मा गरिदिन्छ । “बजार मूल्य कम हुँदासमेत किसानलाई अनुदानले उत्साह थप्छ”, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने, “सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौं ।”     बागलुङमा दैनिक दुई हजार लिटरभन्दा धेरै दूध उत्पादन हुन्छ । जिल्लाभित्रका स–साना बजारका आलावा यहाँको दूध छिमेकी जिल्लामा निर्यात हुन्छ । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दूध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस