देवघाटका विद्यार्थीहरुले पाए स्वीटर र शैक्षिक सामग्री

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १७ : १७
देवघाटका विद्यार्थीहरुले पाए स्वीटर र शैक्षिक सामग्री

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ भित्र रहेका गोपीटार बाल विकास केन्द्रका ९ जना र चेतना बाल विकास केन्द्र बसेनीटारका २९ जना सहित ३८ जना आर्थिक अवस्था कमजोर विद्यार्थीहरुलाई देवघाट गाउँपालिका शिक्षा शाखाको आयोजनामा स्वीटर  र शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै कुनै पनि बालबालिकाहरु शिक्षाको ज्योतिबाट बन्चित हुन नदिन  बाल बिकास केन्द्रहरु  संचालनमा ल्याएको र बिस्तारै बाल बिकास केन्द्रहरुलाई विद्यार्थीहरुको संख्या हेरी आधारभूत विद्यालय बनाउने उनले बताए । साथै अध्यक्ष थापाले देवघाट गाउँ पालिकाको बिकास र शैक्षिक क्षेत्र गुणस्तरको लागि आफू निरन्तर लागि पर्ने बताए। 

कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल बिकास केन्द्रसंगै देवघाट गाउँपालिकाभित्रका सम्पुर्ण विद्यालयहरुको अनुगमन भइरहेको र  शैक्षिक सुधार क्रमिक रुपमा अगाडि बढेको बताए । त्यस्तै कार्यक्रममा सरसफाइबारे जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारतीले जानकारी दिएका थिए ।

कार्यक्रममा देवघाट गाउँ कार्यपालिका सदस्य चन्द्रप्रकाश बिक, देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेललगायतको उपस्थिति रहेको थियो । देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भीमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस