होमियोपेथिकमा बढ्यो बिरामीको आकर्षण

रासस

आइतबार, ०४ माघ २०७७, १५ : ४५
होमियोपेथिकमा बढ्यो बिरामीको आकर्षण

काठमाडौं । ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोप्याथिकतर्फ आकर्षित भइरहेका छन् ।  दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट निको भएर सामान्य जीवन बिताइरहेको कुरा सुनेर खुशी लागेको होमियो चिकित्सक डा आविद हुसेनले बताए । उनी लामो समयदेखि विराटनगरस्थित ज्योति होमियो क्लिनिकमा सेवा प्रदान गर्दै आएका छन् । 
    
ऐलोपेथिक उपचारबाट निराश भएका मानिस आउने गरेका उनले बताए । त्यति बेलासम्ममा रोगले मानिसलाई पूर्णरुपमा च्यापिसकेको हुनाले उपचारमा ढिलाइ हुने डा आविदको भनाइ छ । उपचारबाट सन्तुष्ट हुने मानिसले आफ्ना छरछिमेकमा कुरा गर्दा यसको प्रचारप्रसार बढी हुने गरेको र उपचार गराउन आउने मानिसकै सङ्ख्या पनि बढ्न थालेको उनको अनुभव छ ।

खासगरी, जाँड, रक्सी, चुरोट, खैनी नखाने मानिसलाई यो औषधिले छिट्टै काम गर्ने उनले बताए । दम, ग्यास्ट्रिक, पित्तथैली तथा मिर्गौलामा हुने पत्थरी, टाउको दुख्ने, शरीरमा मुसो निस्कने, सेतो दाग निस्कने, महिलाको आन्तरिक रोग जस्ता धेरै रोगको उपचार यो पद्दतिबाट हुने गरेको चिकित्सक बताउँछन् ।
    
विराटनगर महानगरपालिका– २ मा होमियोपेथिक उपचार गरिरहनुभएको डा नरहरि थपलियाले होमियापेथिकबाट सबै किसिमका पुराना रोगको उपचार हुने जानकारी गराए  । “म कहाँ खासगरी पुराना रोगमा पेट सम्बन्धिका बिरामी, मानसिक रोग, चर्म रोग भएका आउने गरेका छन्”, उनले भने । 

होमियोपेथिक उपचार गराउने  बिरामीहरुले आफ्नो रोगअनुसार नियमित तीन देखि चार महिनासम्म औषधि खानुपर्ने उनी बताउँछन् । होमियोपेथिक उपचार गराउन बिरामी धनकुटा, तेह्रथुम, झापा, सुनसरीबाट समेत आउने गरेका डा थपलियाले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस