जीप दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रासस

आइतबार, ०४ माघ २०७७, १० : ०६
जीप दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

काठमाडौं । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस