प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा, तीन जनाले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ०९ : ४९
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा, तीन जनाले दिए राजीनामा

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् । अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका छन् । त्यसको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री राई अब अल्पमतमा परेका हुन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छन् । 

सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि प्रदेश १ मा मुख्यमन्त्री राई अल्पमतमा परेका हुन् । यसअघि तत्कालीन माओवादीले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन् । 


 

प्रतिक्रिया दिनुहोस