जब जनकपुर उडेको जहाज पोखरा पुग्यो

पत्रपत्रिकाबाट

आइतबार, ०५ पुस २०७७, ०७ : ४३
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो

फाइल तस्विर

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’

उनले यति के भनेकी थिइन्, यात्रुको एकसाथ आवाज आयो, ‘यो जनकपुर होइन ! पोखरा हो, पोखरा !’ उनले ‘बुद्ध एयरलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद’ भन्नै पाइनन् । धावनमार्गमा गुडिरहेको जहाजभित्रैबाट उनले ककपिटमा रहेकी क्याप्टेन रीता प्याकुरेललाई यात्रुको प्रतिवाद रिपोर्टिङ गरिन् । एयरहोस्टेस मानन्धरको सूचनापछि क्याप्टेन प्याकुरेल र को–पाइलट सुरेश कटवालले त्यतिबेला मात्रै थाहा पाए, जनकपुरका यात्रु पोखरा ल्याइएको ।

त्यतिन्जेलमा काठमाडौंबाट उडेको २५ मिनेट घर्किसकेको थियो । यता, काठमाडौं स्टेसनमा बुद्ध एयरले त्यतिबेला मात्रै थाहा पायो, जब पोखराकै लागि जान तयार भएको अर्को जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पोखरा उडानका लागि अनुमति माग्यो । बुद्धले दैनिक काठमाडौं–पोखरा ७ वटा उडान गर्छ । अन्तिम उडानको फ्लाइट नम्बर यूफोर–६०७ हुन्छ । ‘यो उडान नम्बरको जहाज त अघि नै उडेर पोखरा पुगिसक्यो,’ टावरबाट एटीसीले अर्को जहाज उडाउन तयार भएका क्याप्टेन मनोज केसीको टिमलाई जानकारी गरायो ।

उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो । माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो । जहाजले पुनः यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो । पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो ।

यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे । काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो । पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अवतरण गराइन् । कान्तिपुरमा खबर छ ।