लोकतन्त्रमाथि कुनै सङ्कट आउन दिँदैनौ : वरिष्ठ नेता पौडेल

रासस

सोमबार, २९ मंसिर २०७७, २१ : ०३
लोकतन्त्रमाथि कुनै सङ्कट आउन दिँदैनौ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि कुनै पनि सङ्कट आउन नदिइने  बताउनुभएको छ । कांग्रेसले आज देशव्यापीरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला कार्यसमितिको कार्यक्रममा  उहाँले मुलुकमा भ्रष्टाचार, असुरक्षा, महिला हिंसा र पक्षपात बढेको बताउँदै  भन्नुभयो, “राज्यको ढुकुटी मासेर कार्यकर्ता पोस्ने र जनतालाई लोभ देखाएर पार्टी प्रवेश गराउने विषय पनि लोकतन्त्रका लागि खतरा हो ।” 

सरकारले गाउँ फर्किएका युवालाई रोजगारीको व्यवस्था गर्न नसकी पुनः विदेशिनुपरेको र किसानका समस्या समाधानमा प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप थियो । सरकारले योजना र सोचविना समृद्धिको नारा मात्रै अघि सारेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकारले जनतालाई प्रभावकारीरुपमा सेवा प्रवाह सकेन, कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ गएर त्यसको हिसाबकिताब माग्नेछ ।”

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको महामारीका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउँदै लोकतन्त्रको संरक्षणका लागि कांग्रेस सडकमा आएको बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले रोग र भोकले ग्रसित जनताका मौलिक अधिकार कार्यान्वयनमा सरकार असफल भएको टिप्पणी गर्नुभयो । सङ्घीय सांसद भीमसेनदास प्रधानले कोरोनाका कारण राज्यका हरेक क्षेत्र प्रभावित भए पनि सरकारले उचित काम गर्न नसकेको आरोप लगाउँदै  भ्रष्टाचार भनिएका विषयमा  तत्काल छानबिनको माग गर्नुभयो ।

सङ्घीय सांसद राजेन्द्रकुमार केसीले लोकतन्त्रमाथि खतरा देखिएको जनाउँदै काठमाडौँ उपत्यकावासी एकपटक पुनः लोकतन्त्र र परिवर्तनका लागि सडकमा आउनुपर्ने बेला बताउनुभयो । विभिन्न प्लेकार्ड र ब्यानरसहितका जिल्लाका विभिन्न स्थानबाट आएको कांग्रेसको जुलुस राजधानीको शान्तिवाटिकामा भेलामा परिणत भएको थियो ।