कक्षा ११ को पाठ्यक्रम विवाद : नयाँ कि पुरानो भन्नेमै अन्योल

पत्रपत्रिकाबाट

सोमबार, २९ मंसिर २०७७, ०९ : ०१
कक्षा ११ को पाठ्यक्रम विवाद : नयाँ कि पुरानो भन्नेमै अन्योल

काठमाडौं । सरकारले यो वर्षदेखि कक्षा ११ का लागि नयाँ पाठ्यक्रम लागू गरेको घोषणा गरेको करिब दुई महिना पुग्यो । अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाउन शुरु गरिसकेका छन् । नयाँ पाठ्यक्रमअनुसार पढाइ शुरु गरिरहेको अवस्थामा सर्वोच्च अदालतले हलो अड्काइदिँदा समस्या बढेको छ ।

सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । पछि सो विषयमा किनारा लाग्न नसकेपछि यही पुस ६ गते फैसला गर्ने तयारी भएको छ ।

‘हामी त अचम्मित भएका छौं, पढाइ शुरु भइसकेको छ, नयाँअनुसार पढाउने कि पुरानो भन्ने विषयमा निर्णय हुन नसक्दा समस्या बढेको छ।’ –प्याब्सन अध्यक्ष टीकाराम पुरीले भन्नुभयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तय गरेको पाठ्यपुस्तक लागू नगराउनु भनेको लाखौं विद्यार्थीको भविष्य अन्योलमा पुग्नु हो भन्नुभयो । प्याब्सनका अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक खरिद गरेर पढाइ शुरु गरिसकेका छन् ।

तर अदालतले निर्णय गर्न नसक्दा समस्या बढेको छ । हिसानका केही अधिकारीले तयारी पूरा नभएकोे भन्दै पुरानैमा पाठ्यक्रम पढाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् । ‘अहिले विद्यालयले कुन पाठ्यक्रमअनुसार पढाउने भन्ने विषय अन्योल भएको छ’, प्याब्सनका उपाध्यक्ष टीआर ढकालले अदालतले तत्काल निर्णय गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘शिक्षकले कुन पाठ्यक्रमअनुसार पढाउने भन्ने विषयमा सोधेको सोध्यै गर्छन्, हामीले के निर्णय गर्ने, समस्या बढेको छ ।’

कोरोना महामारीका कारण विशेष सावधानी अपनाएर कक्षा चलाउन शुरु गर्ने योजना बनाएका बेला कुन पाठ्यक्रमअनुसार पढाउने भन्ने अन्योल भएको ढकालले बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस