कोरोना बीमामा लुट, अध्यक्ष बन्न लिगलिगे दौड

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, ०९ : ५६
कोरोना बीमामा लुट, अध्यक्ष बन्न लिगलिगे दौड

काठमाडौं । संसारभर नै विपदको बीमा गरिँदैन । नेपालमा भने नमच्चिने पीङको सय झड्का भने जस्तै गरी क्षणिक लाभ र स्वार्थपूर्तिका लागि शुरु गरिएको कोरोना बीमा केही सिमित व्यक्तिलाई नाफा कमाउने भाडोको रुपमा सिमित भएको छ । बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको बीमा समितिका पदाधिकारीको अराजक व्यवहारका कारण कोरोना प्रभावितले नराम्ररी दुःख पाएका छन् ।

केही व्यापारीको स्वार्थमा शुरु गरिएको कोरोना बीमामा कारण आम मानिसको बीमाप्रतिको अवधारणा समेत नकारात्मक बन्न पुगेको छ । बीमा समितिका अध्यक्ष रहेका चिरञ्जिवी चापागाई, कार्यकारी निर्देशक राजुरमण पौडेलका कारण बीमा गरेका नागरिक मारमा परेका हुन् । कोरोना बीमा गराएका निर्जीबन बीमा कम्पनीका मालिकहरुले चापागाई र पौडेललाई मोटो रकम नजराना बुझाएको स्रोतको दाबी छ । पटक पटक अर्थ मन्त्रालयले दिएको निर्देशनलाई समेत बीमा कम्पनीले लत्याएका छन् । बीमा क्षेत्रमा चरम विकृति मौलाएपनि कुनै कारवाही भएको छैन् । 

हालसम्म कोरोना बीमामा दाबी ३ अर्ब १८ करोड बराबरको भएपनि भुक्तानी भने ९८ करोड ५० लाख मात्रै भएको छ । बीमा भुक्तानी नभएपछि बीमा समितिका पदाधिकारीले अनुमगनको नाटक गरेका छन् । बीमा कम्पनीमा पुग्ने, व्यापारीसँग कतै लन्च मिटिङ गर्ने तथा कहिले डिनर मिटिङ गर्ने, मोटो मोटो खाम बुझेर फर्कने धन्दा राम्रैसँग मौलाएको स्रोतको दाबी छ । पछिल्ला दिनमा बीमा समितिका अध्यक्ष चापागाई र कार्यकारी निर्देशकले बीमा कम्पनीबाट राम्रै पैसा नजराना वापत उठाएको एक बीमा कम्पनीका प्रमुख कार्यकारी कार्यकारी अधिकृतले जानकारी दिए । विवरण अनुसार हालसम्म १७ लाख १० हजार २३१ जनाले कारोना बीमा गरिसकेका छन् । उक्त संख्याले कारोना बीमा गर्दा ९८ करोड ६९ लाख ९७ हजार ३०८ रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ ।

कूल २० वटा निर्जीवन बीमा कम्पनीले गरेको कोरोना बीमामा अहिलेसम्म जम्मा ४ हजार ९२९ जनाले मात्रै दाबी भुक्तानी पाएका छन् । ४ हजार ९२९ जनाले ४७ करोड ७७ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी लिएका छन् । कम्पनीहरुले कोरोना बीमाको नाममा ९८ करोड ६९ लाख ९७ हजार ३०८ रुपैयाँ प्रिमियम संकलन गर्दा ३ अर्ब १८ करोड १ लाख रुपैयाँ दावी परेको छ । बीमा समितिले कोरोना लाग्नेलाई दाबी भुक्तानी गर्ने भनेर ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा पोलिसी जारी गरेको थियो । खाए खा नखाए घिच शैलीमा कोरोना प्रभावितलाई ज्यादती गरिएको अवस्था छ । सो कार्यमा बीमा समितिका अध्यक्ष चापागाई र पौडेलले नै भूमिका खेलेका छन् । निर्जीवन बीमा कम्पनीहरुले २७ हजार ८५५ जनाको ३ अर्ब १८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी नगरी रोकेर राखेका छन् ।

कम्पनीहरुले दाबी भुक्तानी प्रक्रिया सुस्त बनाएको र बीमा समितिले खासै चासो नदेखाएपछि केही साता अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोरोना बीमाको दावी भुक्तानी गर्न निर्देशन दिएका थिए । बाहिर निर्देशन दिएको भएपनि मिलाएर गर्नु भन्दै अर्थमन्त्रीले बीमा कम्पनीको साहुजीको पक्षमा नै भूमिका खेलेका छन् ।  उता बीमा समितिको अध्यक्ष बन्न खड्ग ओलीको पावर रहेको भन्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले हल्ला गराएका छन् । नेपाल राष्ट्र बैंकको पावर प्रयोग गरेर राम्रै उठती धन्दा चलाएका शिवाकोटीले यतिबेला खड्ग ओलीको नाममा थर्काउने, धम्क्याउने तथा फकाउने रणनीति अगाडि सारेका छन् ।

उनले आफू बीमा समितिको अध्यक्ष भइसकेको भन्दै पूर्व एमाले निकटका केही पत्रकारलाई बालुवाटारको एक रेष्टुरेन्टमा बोलाएर सोमरससहितको पार्टी समेत गरिसकेका छन् ।  राष्ट्र बैंकको डेपुटी गभर्नर भएपनि कुनै काम नगरेका, क्षमता समेत नभएका शिवाकोटीले ओली मेरो मान्छे, अर्थमन्त्री विष्णु पौडेल समेत मेरो पक्षमा रहेको भन्दै हल्ला चलाएका छन् । उता विगतमा कृष्णबहादुर महरा र चन्द्र ढकालको फेरो समाएर बीमा समितिको अध्यक्ष बनेका चिरिञ्जीवी चापागाई समेत पुनः आफै अध्यक्ष बन्ने भन्दै शक्तिकेन्द्रमा चहारिरहेका छन् । अर्थमन्त्री निकट स्रोतका अनुसार जसले पैसा दिन्छ उसैलाई बीमा समितिमा पठाउने बताएको छ ।

त्यसका लागि विचौलिया समेत परिचालित भएका छन् । शिवाकोटी र चापागाई भन्दा बाहिरबाट पनि हुन सक्छ, तर जसले चित्तबुझ्दो पैसा दिन्छ उसैलाई बीमा समितिको जिम्मा दिने तयारी छ । सो बारेमा बुझन अर्थमन्त्री पौडेललाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । बरु उनको सचिवालयमा रहेका एक सहयोगीले भने, राजनीति गर्नुपर्छ । कार्यकर्ता पाल्नु पनि पर्छ । पैसा लिने भन्दा पनि सहयोग लिने भन्ने कुरा बुझदा राम्रो हुन जाने बताए । 

तर, खड्ग ओलीले जस्तै, पार्टीभित्रको अर्को पक्षलाई चिढ्याउने गरी सुशिल भट्ट प्रवृत्तिका कुनै एक विवादास्पद पात्रलाई बीमा समितिको जिम्मेवारी दिने तयारी थालिएको बताइन्छ । पैसा लिएर अर्थमन्त्रीले भनेको मान्छे बीमा समिति जान्छ कि, पार्टी भित्रको अर्को पक्षलाई चिढ्याउने गरी ओलीको मान्छे जान्छ भन्ने बारेमा थाहा पाउन भने अझै एक महिना कुर्नुपर्ने बीमा क्षेत्रका जानकारहरु बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस