कोरोना परिक्षण : एन्टिजेनमा नेगेटिभ, पीसीआरमा पोजिटिभ

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०७ : ४३
कोरोना परिक्षण : एन्टिजेनमा नेगेटिभ, पीसीआरमा पोजिटिभ

काठमाडौँ । एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकाको पीसीआर गर्दा करिब एक तिहाइमा पोजिटिभ देखिएको छ । काठमाडौंको कोरोना हटस्पटमा लक्षण भएका १ सय १० जनाको एन्टिजेन विधिबाट गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखिए पनि पीसीआर गर्दा ३२ जनालाई पोजिटिभ देखिएको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले एन्टिजेनको विश्वसनीयता र समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन तीन हजार जनाको परीक्षण गर्ने योजना बनाए पनि १ हजार ४ सय ४५ जनाको मात्रै परीक्षण भएको थियो । परीक्षण गरिएकामध्ये १ सय १५ जनालाई पोजिटिभ देखिएको थियो । लक्षण भएका १ सय १० जनाको रिपार्ट भने नेगेटिभ थियो । उनीहरूको पीसीआर गरिएको थियो ।

‘पीसीआर गर्दा एन्टिजेनमा नेगेटिभ देखिएकामध्ये २९ प्रतिशतको रिपोर्ट पोजिटिभ आयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने । काठमाडौं महानगरपालिका–४ धुम्बाराही क्षेत्रमा कात्तिक १५ मा लक्षण भए पनि २० जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो । पीसीआर गर्दा ७ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । त्यस्तै काठमाडौं–७ मा एन्टिजेनमा नेगेटिभ देखिएका तीन जनाको पीसीआर गर्दा दुई जनामा पोजिटिभ पाइयो ।

काठमाडौं–९ सिनामंगल क्षेत्रमा लक्षण भएका तर एन्टिजेनमा नेगेटिभ देखिएका १२ जनाको पीसीआर गर्दा पाँच जनालाई कोरोना पोजिटिभ देखियो । कात्तिक १५ मा ६ सय ९६ जनाको एन्टिजेन गर्दा ४३ जनालाई पोजिटिभ देखिएको थियो । त्यसमा २२ जना पुरुष र २१ जना महिला थिए । त्यस्तै कात्तिक १७ मा बानेश्वर, बुद्धनगर, बल्खु, कुलेश्वर, नयाँबजार, बालाजु क्षेत्रमा ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । उनीहरूमध्ये ७२ जनालाई पोजिटिभ देखिएको थियो । त्यस दिन एन्टिजेन नेगेटिभ देखिए पनि लक्षण भएका ७५ जनाको नमुना पीसीआरका लागि संकलन गरिएको थियो । उनीहरूमध्ये १८ जनामा पीसीआरले कोरोना देखायो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाले एन्टिजेन परीक्षणमा नेगेटिभ देखिएकालाई सम्भावित नेगेटिभका रूपमा मात्रै लिनुपर्ने बताइन् । ‘पोजिटिभ देखिएका सबैलाई पोजिटिभ नै मानिन्छ । तर, नेगेटिभ आएकालाई पूरै नेगेटिभ मान्दैनौं, सम्भावित नेगेटिभ मान्छौं,’ उनले भने, ‘त्यसैले लक्षण भएकाको एन्टिजेनमा नेगेटिभ देखिए पनि पीसीआर गरिएको हो । पोजिटिभ देखियो भने अन्यथा मान्नु हुँदैन ।’ एन्टिजेनमा पोजिटिभ देखिएका १ सय १५ जनाको पीसीआर गर्दा एक जनाको मात्रै नेगेटिभ देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस