धार्मिक पर्वमा देवघाट नआउन आग्रह

रासस

विहीबार, ११ मंसिर २०७७, ११ : ५०
धार्मिक पर्वमा देवघाट नआउन आग्रह

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशी लगायतका मेला पर्वमा नआउन आग्रह गरेका छन् । 

विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् नै रहेको  र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ 

परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।
 

देवघाटधाममा अधिकांश वृद्धवृद्धा बसोबास गर्ने गर्दछन् । चिसो मौसममा वृद्धवृद्धामा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनका अनुसार अन्त्येष्टि कर्ममा समेत सम्भव भएसम्म थोरै व्यक्ति आइदिन आग्रह गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस