आली काटेको निहुँमा हत्या

पत्रपत्रिकाबाट

विहीबार, ११ मंसिर २०७७, ०७ : ४५
आली काटेको निहुँमा हत्या

रौतहट । खेतको आली काटेको निहुँमा विवाद हुँदा काठको चिर्पटले हानेर बुधबार एक जनाको हत्या भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । अन्य दुई फरार छन् । गरुडा नगरपालिका–७ भिमडाबर गाउँमा बुधबार जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवादपछि झडप हुँदा चिर्पटले हानेर ५० वर्षीय फतिंगा ठाकुरको हत्या भएको हो ।

भिमडाबरका रामअसय ठाकुरले गाउँकै ध्यानी ठाकुर लोहारको खेतको आली काटेको विषयलाई लिएर बिहान दुबै पक्षबीच विवाद भएको थियो । प्रहरीका अनुसार विवाद बढ्दै गएपछि आवेगमा आएका ध्यानी ठाकुर, नागेन्द्र ठाकुर र ज्ञानी ठाकुर समेतले चिरान काठले ५० वर्षीय फतिंगा ठाकुरको टाउकोमा प्रहार गरेका थिए । ध्यानी, नागेन्द्र र ज्ञानी तीनै जना दाजुभाइ हुन् ।

प्रहरीका अनुसार चिर्पटले लागेर फतिंगा भूइँमा ढलेका थिए । इलाका प्रहरी गरुडाका डिएसपी रबी रावलले झडप र मानिस घाइते भएको खबर पाउनासाथ टोली पठाएका थिए । घटनास्थल पुगेर प्रहरीले घाइते फतिंगालाई उपचारका लागि गरुडास्थित सिटी अस्पताल ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी रावलले बताए । प्रहरीले कुटपिटमा संलग्नमध्ये ध्यानी ठाकुरलाई पक्राउ गरेको छ ।

घट्नास्थलबाट भागेका ध्यानीलाई भिमडाबरस्थित परालको भुसभित्र लुकेको अवस्थामा पक्राउ गरिएको डिएसपी रावलले जनाए । ‘हत्यामा संलग्न अन्य फरारको खोजी भइरहेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार चिर्पट प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगाको जमिनलाई आफ्नो भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच कुटाकुट भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस