भोट हाल्न काठमाडौंबाट फर्किए आठ लाख मतदाता

आइतबार, १० मंसिर २०७४, ०६ : ४७
भोट हाल्न काठमाडौंबाट फर्किए आठ लाख मतदाता

पहिलो चरणअन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको खबर आजको नयाँ पत्रिकामा छ ।

‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने । विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता (आइतबारदेखि शनिबार बेलुकीसम्ममा) ३ लाख मानिस बाहिरिएका छन् ।

मुख्य राजमार्गमा समस्या छैन
सडक विभागका अनुसार आइतबार मतदान हुने जिल्ला आवातजावत गर्ने राजमार्गमा भने समस्या नभएको जानकारी दिएको छ । दसैँ–तिहारपछि देशभर सडक सुचारु रहेको विभागका सहप्रवक्ता रमेशकुमार सिंहले जानकारी दिए । धेरैका लागि समस्या बनेको मुग्लिन–नारायणगढ सडक सुचारु छ ।

पार्टी कार्यकर्तादेखि विद्यार्थीसम्म बाहिरिए
मतदानमा भाग लिन घर जानेमा सबैभन्दा धेरै पार्टी कार्यकर्ता छन् । त्यस्तै, काठमाडौंबाट बाहिरिनेमा कर्मचारी, निजी कम्पनीमा काम गर्नेहरू र काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको यातायात व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस