माधव नेपाललाई फकाउन किन खटिए प्रदीप नेपाल ?

दुवै नेता बिच दुई घण्टा वार्तालाप

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ०९ : ५५
माधव नेपाललाई फकाउन किन खटिए प्रदीप नेपाल ?

काठमाडौं । चौतर्फी अप्ठयारोमा परेका प्रधानमन्त्री केपी ओलीले आफ्नो अप्ठयारो फुकाउन फेरि अनेक दाऊ चाल्न थालेका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई अप्ठयारोमा पार्ने र कर्नरमा राख्ने योजनाका साथ ओली अहिले तत्कालिन एमाले समुह एक हुनु पर्ने भन्दै अनेक अस्त्र प्रयोग गर्न थालेका छन् । त्यही क्रममा उनले पार्टीका केन्द्रीय सदस्य मात्र रहेका तर सक्रिय राजनीतिबाट ओझेल लागेर चुपचाप घरमै स्वास्थ्यका कारण आराम गरी बसेका प्रदीप नेपाललाई गुहार्न थालेका छन् । प्रदीप त्यस्ता पात्र हुन्, जसले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकता रुचाएका थिएनन् ।

उनले जनताको बहुदलीय जनवाद छोडेर एकता गर्ने काम गर्न नहुने भन्दै त्यसबेला पनि पूर्व एमाले नेताहरुसँग सअन्तुष्टि राखेका थिए । अहिले त्यही जनताको बहुदलीय जनवाद (जवज)को नाममा पूर्व एमाले एक बनाउने गरी ओलीको प्रस्तावमा उनी जुटेका हुन् । ओलीको अलराउण्डर विश्वासप्राप्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई गत शनिबार नेपाल निवास पुगेका थिए । त्यहाँ उनीहरुले ओली र माधव नेपाललाई मिलाउन अभिभावकको रुपमा भूमिका खेलिदिन प्रदीप नेपालसँग आग्रह गरेका थिए ।

‘तपाई सक्रिय भईदिनुपर्यो, ‘जवज’ कै कार्यदिशाका आधारमा ओली र माधवलाई मिलाउनु पर्यो,’ भन्दै नेपाल निवास प्रधानमन्त्री ओली चलाउने भित्रिया टोलीका ५ भाई पुगेका थिए । त्यसक्रममा नेपालले आफ्नो पार्टी जिम्मेवारीमा चासो राखेका थिए । स्रोतका अनुसार, मेरो जिम्मेवारी नै केही छैन्, मैले कसरी मिलाउने ? भन्दै उनले पार्टीमा ओली र नेपाल मिलाउन भूमिका खेलेको आधारमा के जिम्मेबारी पाउने भन्नेमा चासो राखेका थिए । स्रोतका अनुसार त्यसवापत आफुलाई सचिवालयमा राख्नुपर्ने, त्यो सम्भव नभए स्थायी समिति र सल्लाहकार परिषद्को अध्यक्ष बनाउनु पर्ने गरी जिम्मेवारी तय गर्नुपर्ने आफ्नो प्रस्ताव पनि अगाडी बढाएको स्रोतले बताएको छ ।

नेपालले अब पार्टी महाधिवशेनबाट ओली अध्यक्ष नउठेर माधव नेपाललाई सहयोग गर्ने भए आफु त्यसका लागि छलफल गर्न तयार रहेको पनि बताएका थिए । ओलीका टिमसँग नेपालले यस्तो प्रस्ताव राखेपछि महत्वपूर्ण जिम्मेवारीमा नेपालको ब्यवस्थापन गर्ने भन्दै जसरी हुन्छ ओली र माधव नेपाल मिलाउन भूमिका खेलिदिन आग्रह गरेर उनीहरु फर्केका थिए । त्यसपछि भने प्रदीप नेपालले आफ्नो सक्रियता बढाउन थालेका हुन् । आइतबार उनले वरिष्ठ नेता माधव नेपाललाई फोन गरे ।

‘प्रधानमन्त्रीका केटाहरु तपाई कँहा आएछन्, के गर्न आए, मैले पत्रपत्रिका पढेर थाहा पाए ?’ प्रदीपले माधवलाई फोन गर्ने बित्तिकै माधवले सोधे । प्रदीपले भने, –‘भेटमा कुरा गरौं, म तपाईलाई भेट्न भोलि (सोमबार) आउँछु निवासमै । ’ तर नेपालले निवासमा नभई आफै प्रदीपको निवास आउने बताए । जरसिंहपौवामा आफ्नो कार्यक्रम रहेको र त्यहीबाट फर्किदा निवास पस्ने योजना नेपालले बनाए र त्यही प्रदीपसँग सुनाए ।

त्यसपछि वरिष्ठ नेता नेपाल प्रदीप नेपालको निवासमा सोमबार दिउँसो २ बजे पुगे । उनीहरुबीच दुई घण्टा लामो छलफल भयो । शुरुमै नेकपाभित्र भएको के हो ? प्रदीपले माधव नेपालसँग सोधे । माधवले बेलिबिस्तार लगाए । प्रदीपले भने,–‘तपाईले अब जनताको बहुदलीय जनवाद छोडेको हो ?’ माधवले भने, –‘छोडेको छैन, म छोड्दिन पनि ।’ माधव नेपालको यस्तो जवाफ पाएपछि प्रदीपले भने,–‘त्यसो भए किन प्रचण्डसँग हात अगाडी बढाएको त ? अहिले केपीसँगै मिल्नुपर्छ । जवजलाई स्थापित गरेर जानुपर्छ । तपाई र केपी ओली मिल्नुस् ।’ माधवले ओलीको कार्यशैलीका बारेमा लामो ब्याख्या गरे ।

‘कुनै निर्णय मान्ने होइन, केही सुझाव सुन्ने होइन, ओलीले अब कसैलाई नटेर्ने भए, अनि उनीसँग कुरा गरेर के हुन्छ ?’ माधवले थपे, –‘राजदुत नियुक्तिमा पनि त्यस्तै छ, सरकारको काममा पनि त्यस्तै छ, पार्टीमा एउटा छलफल हुन्छ, दिएको सुझाव हुदैंन पनि भन्दैनन्, हामीले दिएको सुझाव पनि एउटै कार्यान्वयन गर्दैनन, अब उनको पाराले पार्टी र सरकार चल्न गाह्रो छ । ’ प्रदीपले माधव नेपाललाई फकाउदै भने,–‘तपाईको अबको तयारी के हो ? पार्टीको अध्यक्ष बन्ने होइन ?’ माधवले भने,– ‘हो, मैले अब पार्टी नेतृत्व लिएर जानुपर्छ भन्ने लागेको छ ।’

‘त्यसो हो भने ओलीसँगै हात बढाउनुहोस । ओलीसँग सम्झौता गर्नुहोस । मलाई महाधिशवेनमा सहयोग गर्नुहोस, म अहिले चुप बस्छु भन्नुहोस’–प्रदीपले माधवलाई फकाउदै भने । माधवले त्यसपछि भने,–‘ओलीको विश्वास हुदैंन् । उनी भन्छन एउटा, गर्छन अर्काे । उनले भनेको कुरा बोलेको कुरा गर्दैनन् , मलाई ओलीप्रति विश्वास नै छैन ।’ ‘अबको महाधिवशेनबाट तपाईलाई पार्टी अध्यक्ष बनाउने, त्यसमा ओलीले सहयोग गर्ने, पूर्व एमालेहरु एकढिक्का बन्ने, जवजको कार्यक्रम लागु गरेर जाने । यी विषयमा लिखित सम्झौता गरौं, ओलीसँग तपाई तयार हुनुहोस, ओलीसँग मिल्नुस । त्यो सहमति गर्ने बेला हामी पनि सँगै बस्छौं, यसरी जाऔं, तपाईले ओलीसँग छलफल गर्नुस्,’ प्रदीप नेपालले माधव नेपालसँग प्रस्ताव राख्दै भने । माधवले ओलीको विश्वास नै छैन्, भन्दै उही कुरा दोहोराईरहे । ओलीको कार्यशैली प्रदीपलाई सुनाईरहे । त्यसपछि दुई नेता फेरि छलफलमा बस्ने, माधवका कुरा ओलीकँहा पुरयाउँछु भन्दै प्रदीपले माधवलाई बिदाई गरे ।

नेपालसँग भेट भएको सन्देश बालुवाटारमा पुगिसकेको थियो । बालुवाटारले त्यसपछि माधव नेपालसँग प्रदीप नेपालसँग भएको छलफलको सन्देश बुझ्न आफ्ना अर्का दूत केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई प्रदीप नेपालको निवासमा पठाएको स्रोतले बताएको छ । माधव नेपालसँगको छलफलको सम्पूर्ण टिपोट टिपेर र माधव ढुंगेल प्रदीपको घरवाट बाहिरिएका थिए । उनले दुई नेताबीच भएको सम्वादको विवरण बालुवाटारमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई ब्रिफ्रिङ गरेको स्रोतको भनाई छ ।

माधव नेपाल र ओलीबीच मिलाप गराउन ओली पक्षले अहिले सम्पूर्ण साम, दाम दण्ड, भेद सबै प्रयोग गर्न थालेको छ । त्यही क्रममा प्रदीप नेपाललाई ओली पक्षले सक्रिय बनाएको हो । ओली पक्षले माधव नेपाललाई फकाउन खोजेपनि नेपाल भने अझै प्रचण्डसँगकै सहकार्यमा छन् । ओली भन्दा प्रचण्ड नै विश्वासिलो भएको भन्दै नेपाल पक्षले अहिले प्रचण्डसँगको सहकार्यलाई नै अगाडी बढाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस