खुमलटारमा प्रचण्डको ब्रिफिङ : प्रधानमन्त्रीले पार्टी फुटाउँछु भन्नुभयो

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०७७, १८ : ०२
खुमलटारमा प्रचण्डको ब्रिफिङ : प्रधानमन्त्रीले पार्टी फुटाउँछु भन्नुभयो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन चाहनुभएको बताएका छन् । 

खुमलटार बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘उहाँले मसँग अलगअलग बाटो हिँड्न प्रस्ताव नै गर्नुभएको थियो ।’ आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तिक्ततामा परिणत भएको प्रचण्डले ब्रिफिङ गरेका थिए । “बैठकको उपादेयता छैन, निर्णय सबै मान्नुपर्छ भन्ने पनि छैन, पार्टी अब अलगअलग जाने हो भनेर प्रधानमन्त्री ओलीले भन्नुभएको कुरा अध्यक्ष प्रचण्डले हामीसँग भन्नुभयो’ बैठकमा सहभागी एक सदस्यले भने । 

बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् । 

‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलगअलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ बैठकमा सहभागी सदस्यले, भने ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’

प्रतिक्रिया दिनुहोस