चौरसिया मृत्यु प्रकरण : मातृकासहित ३७ केन्द्रीय सदस्यद्वारा हत्याको जाहेरी दर्ता गर्न माग

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १० : ०८
चौरसिया मृत्यु प्रकरण : मातृकासहित ३७ केन्द्रीय सदस्यद्वारा हत्याको जाहेरी दर्ता गर्न माग

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षधर कार्यकर्ताले पार्टीभित्रकै विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको भाटा प्रहार गरी हत्या गरेपछि पर्सामा हत्यारालाई कारवाही गर्न माग गदै दिनहुँ प्रदर्शन भइरहेको छ । हत्या जस्तो विषय पार्टीभित्रको आन्तरिक विवाद भनेर पन्छिन नमिल्ने र पीडित परिवारले उजुरी वोकेर प्रशासन कार्यालय पुगेपछि उजुरी दर्ता गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा जिल्ला प्रशासन कार्यलयले उजुरी समेत दर्ता नगरेपछि दिनहु हत्यारालाई कारवाही माग गदै प्रर्दशन हुन थालेको हो । 

सत्तारुढ दलका स्थायी समिति सदस्य मातृका यादवसहित ३७ जना केन्द्रीय सदस्यले चौरसियाको हत्या भएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गर्दै वक्तव्य जारी गरेका छन् । गत बिहीबार विन्दवासिनी–५ प्रसौनीमा गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमस्थलमा ओली पक्षधरले भाटा प्रयोग गरी चौरसियाको हत्या गरेका थिए ।

मृत्यु भएको ६ दिन बितिसक्दा पनि प्रहरीले कर्तव्य ज्यानको जाहेरी दर्ता गर्न मानेको छैन । यादवसहति ३७ नेताले चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस घटनाका सम्पूर्ण दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’ 

कानुनी राज्यको खिल्ली उडाउने काम भएको भन्दै नेताहरुले तत्काल दोषीलाई प्रक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

हेर्नुहोस्, हत्यारालाई कारवाही माग गर्दै ३७ नेताले संयुक्त रुपमा निकालेको वक्तब्य :

प्रचण्ड र नेपालले पनि दोषीलाई कारवाही गर्न गरे माग
नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले पनि घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले ९ कात्तिक र वरिष्ठ नेता नेपालले ७ कात्तिकमा छुट्टाछुट्टै विज्ञप्तिमार्फत दोषीमाथि तत्काल कारबाही माग गरेका हुन् । ‘शपथग्रहणमा केही अवाञ्छित तत्वको आक्रमणमा परी पार्टी जिल्ला सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदितै छ । पार्टी जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा तथा हत्यारालाई कडा कारबाही माग गर्दै वक्तव्य जारी भएको पनि विदितै छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्छु ।’

यस्तै, नेपालले सम्बन्धित निकायले हत्याजस्तो जघन्य अपराधको मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको उल्लेख गरेका छन् । ‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु,’ नेपालको विज्ञप्तिमा उल्लेख छ ।

किन जाहेरी लिएन प्रहरीले ?
पर्सामा प्रहरी प्रमुख छिन, एसपी गंगा पन्त । उनी पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको निर्देशनमा अहिले पनि बेलाबेला चल्ने गर्छिन् । प्रधानमन्त्री ओलीले अरुको पार्टी फुटाउन सांसद अपहरण गर्नका लागि समेत सर्वेन्द्र खनाल र महेश वस्नेतलाई परिचालन गरेका थिए ।

अहिले पर्साको विन्दवासिनी घटनामा पनि एसपी पन्तमार्फत ओलीले जाहेरी नलिन दवाव बढाएका छन् । पीडितहरुले ओली पक्षका राजकुमार गुप्ता मुख्य योजनाकार भएको र उनकै योजनामा थप १२ जना दोषी रहेको भन्दै जाहेरी प्रशासन कार्यलयमा दर्ता गराउन पुगेका थिए ।

तर एसपी पन्तले आरोपित व्यक्तिको नाम किटानी गरेर निवेदन नदिन भन्दै जाहेरी दर्ता गराएका छैनन् । पन्त तिनै एसपी हुन जसले नेकपा अध्यक्ष प्रचण्डप्रति असाध्यै पूर्वाग्राही बन्दै एकपटक सामाजिक सन्जालमा अनावश्यक लेखेकी थिइन् । उनी असाध्यै पूर्वाग्राही एसपीका रुपमा चिनिन्छिन् । गृहमन्त्री थापाले जाहेरी लिन भने पनि उनले गृहमन्त्रीको समेत अदेश नमानी माथिको आदेशमा दर्ता गर्न नमिल्ने बताउँदै आएको स्थायी समिति सदस्य मातृका यादवले विरोध सभामा आफ्नो धारणा राखेका थिए । 

गृहमन्त्रीले दिएको आदेश समेत नमान्ने र माथिको आदेशमा दोष्ीको नाम हटाउ भन्न्ने एसपीलाई त्यो भन्दा माथिको आदेश कसको आयो ? अहिले नेकपाका पर्साका नेता कार्यकर्ता भन्छन्, –‘त्यो भनेको प्रधानमन्त्री ओलीको आदेश हो ।’ 

ओलीको आदेशमै एसपी पन्तले जाहेरी नलिएकी हुन्  । ‘राजनीतिक व्यक्ति भए आपत्तिसम्म जनाउँथे होलान्, छलफल गर्न खोज्थे, बढी भए सामान्य हातपातसम्म हुन्थ्यो होला,’ प्रदेश २ का पार्टी सहइन्चार्ज नागेन्द्र चौधरीले भने,– ‘तर, त्यहाँ सीधै कार्यक्रमस्थलमा प्रवेश गरेर ब्यानर च्यात्ने, हातहतियारले आक्रमण गरेर हत्यासम्मको घटना भयो, अपराधीलाई तत्काल कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस