चितवनमा बढ्दै बलात्कारका घटना

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, १६ असोज २०७७, १३ : ५६
चितवनमा बढ्दै बलात्कारका घटना

चितवन । चितवनमा बलात्कारका घटनामा कमी आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन, भदौ) मा २१ वटा जबरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएका छन् । गत आवको सुरुवाती दुई महिनामा ८ वटा मुद्दा दर्ता भएका थिए । आव ०७६/७७ मा कुल ५१, आव ०७५/७६ मा पनि ५१, आव ०७४/७५ मा ५५ वटा बलात्कार मुद्दा दर्ता भएका थिए । 

आफन्त, छिमेकी र साथीसंगीबाट नै अधिकांश जबरजस्ती करणी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । बालिकालाई धेरै उमेर पुगेका व्यक्तिले र अन्यको हकमा भने एउटै उमेर समूहका व्यक्तिले जबरजस्ती करणी गर्ने गरेकोे देखिएको उनले बताए । 

‘२० वर्षभन्दा कम उमेरका केटीसँग सहमतिमा, प्रेम सम्बन्ध भएर वा विवाह नै गरेर भएपनि यदि शारीरिक सम्बन्ध राखिएको छ भने त्यो बलात्कार हुन्छ । यदि त्यस्तो भएको प्रमाणित भएमा प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउँछ’ उनले भने ।

जिल्लामा चालु आवको दुई महिनाभित्र जवरजस्ती करणी उद्योगका दुई वटा मुद्दा दर्ता भएका छन् । गत आवको सुरुवाती दुई महिनामा आठ वटा मुद्दा परेका थिए । गत आवमा कुल २५, ०७५/०७६ मा कुल नौ, ०७४/७५ मा कुल २३ वटा मुद्दा थिए । 

बालयौन दुराचारमा एउटा मुद्दा
बालयौन दुराचारको घटनामा चालु आवको पहिलो दुई महिनामा एउटा मुद्दा दर्ता भएको छ । गत आवको सुरुवाती दुई महिनामा पनि एउटामुद्दा दर्ता भएको थियो । गत आवमा कुल पाँच रआव ०७५/०७६ मा कुल १० वटा मुद्दा दर्ता भएकाथिए ।

मानव बेचविखनका घटनामा चालु आवको पहिलो दुई महिनामा एउटा मुद्दा दर्ता भएको छ। गत आवको पहिलो दुई महिनामा दुई वटा मुद्दा दर्ता भएका थिए । गत आव ०७६/७७ मा कुल ६, ०७५/०७६ मा कुल चार, ०७४/७५ मा कुल १० वटा मानव बेचविखनका मुद्दाअदालत पुगेका थिए ।

माथि उल्लेखित सबै प्रकारका हिंसाका घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कानुनी कारवाहीका लागि मुद्दालाई अदालतसम्म लग्ने गरेको छ । विभिन्न हिंसा आरोपमा चालु आवको पहिलो दुई महिनामा २३ पुरुष र १ महिला, गत आवमा कुल ९० पुरुष र पाँच महिला, ०७५/७६ मा कुल ८० पुरुष र दुई महिलातथा ०७४/७५ मा कुल ९० पुरुष र चार महिला अभियुक्तलाई पक्राउ गरेर कानुनी प्रक्रियाका लागि अदालतसम्म लगिएको प्रहरी कार्यालयले जनाएको छ ।

घरेलु हिंसामा मिलापत्र 
प्रहरी कार्यालय चितवनले घरेलु हिंसाका घटनामा भने सकभर मिलापत्र गर्ने गरेको जनाएको छ । घरेलु हिंसालाई प्रहरी कार्यालयले तीन वटा बुँदामा दर्ता गर्ने गर्दछ । शारीरिक यातना (हेला, बेवास्ता, गालीगलौज, कुटपिट), मानसिक यातना (खानलाउन नदिएको) र आर्थिक यातना (पालनपोषण, शिक्षादिक्षा, औषधि उपचार नगर्ने) भनेर छुट्याएर निवेदन दर्ता गर्ने गर्दछ ।

चालु आवको साढे दुई महिना (साउनदेखि असोज १५ सम्म) मा २४ वटा घरेलु हिंसाका निवेदन परेका छन् । गत आव ०७६/७७ मा कुल ८३, ०७५/७६ मा कुल ३३५, ०७४/७५ मा कुल ३१५ र ०७३/७४ मा कुल २५० वटा घरेलु हिंसाका निवेदन परेका थिए । ती सबै निवेदन मिलापत्रमा टुंग्याइएको थियो । घरेलु हिंसामा गत आर्थिक वर्षमा तुलनात्मकरुपमा कमी आएको देखिन्छ । 

घरेलुहिंसाका उजुरीमा प्रहरीले सकभर मिलापत्र गराउँदै आएकोे छ । चालु आवको हालसम्ममा दर्ता भएका २४ वटा घरेलु हिंसाका उजुरीमध्ये तीन वटाको मिलापत्र गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस