बलात्कार घटनाले फेरी तात्यो भारत, उत्तर प्रदेशमा एक दलित युवती माथि सामुहिक बलात्कार

उपचारको क्रममा १५ दिन पछि मृत्यु

एजेन्सी

बुधबार, १४ असोज २०७७, १२ : १९
बलात्कार घटनाले फेरी तात्यो भारत,  उत्तर प्रदेशमा एक दलित युवती माथि सामुहिक बलात्कार

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक दलित युवती माथि सामुहिक बलात्कार भएको छ । बलात्कार पछि उपचार भईरहेको अवस्थामा उनको १५ दिन पछि मृत्यु भएको छ ।  घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलन चर्किदै गएको छ । उत्तर प्रदेशको  हाथरथ जिल्ला दलित युवतीको मंगलबार दिउँसो दिल्लीको सफदरगंज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीमाथि गत सेप्टेम्बर १४ मा खेतमा घाँस काट्न गएको बेला सामूहिक बलात्कार भएको थियो। बलात्कारपछि उनको जिब्रोसमेत काटिएको थियो। शरीरमा गम्भीर चोट थियो। उनी खेतमा बेहोस अवस्थामा भेटिएकी थिइन्। स्वास्थ्य अवस्था गम्भीर भएसँगै सोमबार उनलाई दिल्लीको सफदरगंज अस्पतालमा उपचारको लागि पुर्‍याइएको थियो ।

स्थानिय प्रहरीले घटनामा संलग्न भएको आरोपमा सन्दीप, रामकुमार, लवकुश र रवि नामका चार जनालाई पक्राउ गरेको छ। घटना दलित परिवारसँग भएकोले प्रहरीले प्रशासनले घटनालाई गम्भीर रुपमा नलिएको र अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप उनीहरुले लगाउदैं आएका छन् । 

पहिले प्रहरीले केवल हत्या मुद्दामा मात्रै उजूरी दर्ता गराएको थियो। एकजनालाई मात्रै अभियुक्त बनाएको थियो। घटना भएको १० दिनसम्म पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको थिएन।  सुरुमा हत्या अभियोगमा मात्रै उजूरी लिएको प्रहरीले चौतर्फी विरोधपछि सामूहिक बलात्कार मुद्दामा पनि उजूरी लिएको हो। 

सुरुमा पीडितलाई अलिगढ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। प्रहरी घटना भएको पाँचदिनपछि सेप्टेम्बर १९ मा मात्रै पीडितसँग वयानका लागि पुगेको थियो। पीडित युवतीको अवस्था गम्भीर भएका कारण प्रहरी वयान नलिएरै फर्किएको थियो । पक्राउ परेकाहरु पीडितकै गाउँका हुन्। घटनापछि उनीहरुले पीडित परिवारलाई धम्की दिएका थिए। उनीहरुले गाउँमा आफूलाई बस्न दिँदैनन् कि भन्ने पीडित परिवारलाई डर छ।