चटपटेको निहुँमा बालिकाको हत्या

पत्रपत्रिकाबाट

सोमबार, १२ असोज २०७७, ०७ : ५४
चटपटेको निहुँमा बालिकाको हत्या

फाईल तस्वीर

सुनसरी । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्या भएको छ ।
हत्या आरोपमा छिमेकी १६ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताए ।

प्रहरीका अनुसार शनिबार अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेका थिए ।

‘बालिकाले राति चटपटे नभएको बताएपछि बालिकाको टाउकोमा बोतलले हानेको र त्यसपछि भेस्ट र रुमालले घाँटी कसेर हत्या गरी आफ्नै घरमा गएर सुतेको बयान ती किशोरले दिएका छन्,’ डीएसपी कार्कीले भने ।

प्रहरीका अनुसार मीनाका अभिभावकले आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरीलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट लैला नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

आइतबार बिहान घरमै पक्राउ परेका किशोरलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस