सन्दर्भ : विश्व पर्यटन दिवस

पर्यटन मजदुरले मागे पर्यटनमन्त्रीको राजीनामा

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १३ : २५
पर्यटन मजदुरले मागे पर्यटनमन्त्रीको राजीनामा

काठमाडौँ । विश्व पर्यटन दिवसमा पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा मागेका छन् । आइतबार काठमाडौँमा विरोध प्रदर्शनको आयोजना गर्दै पर्यटन मजदुरहरुले मन्त्री भट्टराईको राजीनामा माग गरेका हुन् ।

आइतबार पर्यटन दिवस भएपनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका उनीहरुले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा लगाएका थिए ।

पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।

मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका हुन् । नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् ।

सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ । यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस