अब विद्युतिय माध्यम (वालेट) बाटै रेमिट्यान्स सेवा

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ असोज २०७७, ०७ : ३७
अब विद्युतिय माध्यम (वालेट) बाटै रेमिट्यान्स सेवा

काठमाडौँ । अब विदेशबाट विद्युतीय माध्यम (वालेट) बाटै रेमिट्यान्स पठाउन पाइने भएको छ । राष्ट्र बैंकले मंगलबारदेखि लागू हुने गरी गरेको व्यवस्थाले यस्तो सुविधा मिलेको हो । यसअघि विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै पठाउनुपर्थ्यो । नयाँ व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहाँको वालेटबाटै नेपाली वालेटमा पैसा पठाउन पाउनेछन् ।

मानौं, मलेसियामा कार्यरत नेपालीले रेमिट्यान्स पठाउँदा यहाँको इसेवा, आईएमई पे जस्तै स्थानीय भुक्तानी सेवा प्रदायकको (वालेट) एप डाउनलोड गर्नुपर्नेछ । सोही एपमार्फत सिधै नेपालमा ई–सेवा, आईएमई पेलगायत भुक्तानी सेवा प्रदायकको अनुमति पाएका कम्पनीको खातामा पैसा पठाउन सकिनेछ । अब रेमिट्यान्स पठाउनकै लागि कामदार रेमिट्यान्स कम्पनी वा बैंकसम्म धाइरहनु पर्दैन । कामदारले आफू रहेकै स्थानबाट आफूलाई पायक पर्ने समयमा सिधै आफन्तको वालेटमा पैसा पठाउन सक्नेछन् ।

विद्युतीय माध्यमबाट रेमिट्यान्स ल्याउन सकिने व्यवस्था डिजिटलाइजेसनमा ठूलो फड्को भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्र बताउँछन् । ‘अब औपचारिक माध्यमबाट धेरै रेमिट्यान्स भित्रिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘झन्झटरहित भएकाले धेरै नेपालीलाई पैसा पठाउन सजिलो हुनेछ ।’ यो नयाँ व्यवस्था रेमिट्यान्सको क्षेत्रमा एउटा सकारात्मक कदम भएको नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए ।

‘राम्रो सुरुवात भएको छ,’ उनले भने, ‘आउँदा दिनमा धेरै रेमिट्यान्स भित्र्याउन यो व्यवस्था सहयोगी हुनेछ ।’ कामदारहरूले आफू रहेकै स्थानबाट चाहेको समयमा पैसा पठाउन सक्ने भएकाले धेरै सजिलो छ । समय र पैसाको पनि बचत हुने राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलको दाबी छ । ‘रेमिट्यान्सको क्षेत्रमा ठूलो उपलब्धि हो यो,’ उनले भने, ‘यो व्यवस्थाले विदेशमा बस्ने नेपालीलाई बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्छ ।’

विद्युतीय माध्यमबाट रेमिट्यान्स भित्र्याउने काम नयाँ भने होइन । करिब तीन वर्ष अघिदेखि नै केही रेमिट्यान्स कम्पनीले ‘वालेट’ मार्फत रेमिट्यान्स पठाउने प्रणाली सुरु गरिसकेका छन् । तर यसअघि उताबाट वालेटबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै जम्मा गर्नुपर्थ्यो । अब सिधै वालेटमै पठाउन सकिने भएको हो ।

तर पैसा पठाउने र पाउने दुवै वालेट अटोमेटिक रूपमा बैंक खातासँग आबद्ध हुनुपर्छ । यो व्यवस्थामार्फत पैसा पठाउँदा वालेटमा बढीमा २५ हजार रुपैयाँ मात्र राख्न पाइनेछ । विदेशबाट भने जति रकम पनि वालेटमा पठाउन पाइन्छ । तर नेपालमा आइसकेपछि वालेटमा रहेको २५ हजार रुपैयाँभन्दा बढी रकम सिधै बैंक खातामा जाने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस