बागेश्वरीमा ५० जना निको भएर घर फर्किए, अन्य ५१ जना उपचारमा

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १६ : ४१
बागेश्वरीमा ५० जना निको भएर घर फर्किए, अन्य ५१ जना उपचारमा

चितवन । भरतपुर महानगरपालिका १, बागेश्वरीमा रहेको योगी नरहरि नाथ प्राकृतिक चिकित्सालयबाट आज एकैदिन २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म बागेश्वरीबाट ५० जना निको भएर घर फर्किसकेका छन् भने अन्य ५१ जना उपचारमा रहेका छन् ।

चिकित्सालयमा भरतपुर महानगरले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेकामध्ये २१ जनालाई आज एकैदिन घर पठाइएको चिकित्सालयले जनाएको छ । बिभिन्न चरणमा गरी हालसम्म ५० जना निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनु भयो । अब चिकित्सालयमा ५१ जना बिरामी उपचाररत रहेको कोइरालाको भनाई छ । 

यहाँ योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा बिशेष ध्यान दिई उपचार गराइएको डा. कोइराला बताउनु हुन्छ । बिरामीलाई समय मिलाएर फलफूल, आँकुरा आएका गेडागुडी, हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको उहाँको भनाई छ ।

निको भएकाहरुलाई आईसोलेसन केन्द्रका संयोजक अरुण पीडित भण्डारी र महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फलफूलको बिरुवा र संक्रमणमुक्त भएको प्रमाणपत्र दिनु भएको थियो ।

प्राकृतिक चिकित्सालयमा निकै राम्रो वातावरणमा कोरोना संक्रमितको उपचार भइरहेको, योग, ध्यान र खानपानले रोग निको बनाउन सहयोग मिलेको चिकित्सालयमा उपचार गराई निको हुनु भएका भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डा. निर्देश पोखरेलले बताउनु भयो । 

संक्रमण हुँदा सुरुको दिनमा धेरै आत्तिएपनि पछि बिस्तारै प्राकृतिक उपचारबाट निको भएको उहाँको भनाई छ ।  कोरोनालाई खेलवाड नसोच्न उहाँको आग्रह छ । मास्कको सही प्रयोग गरी सामाजिक दुरी कायमा गर्न उहाँले आग्रह गर्नुभयो ।  

योगी नरहरि नाथ प्राकृतिक चिकित्सालय भरतपुर महानगर कोभिड १९ आईसोलेसन केन्द्र्का संयोजक तथा भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले आयुर्वेदिक उपचार विधि र योग, ध्यान साधना कोरोनाको उपचारका लागि रामबाण नै भएको बताउनु भयो । चिकित्सालयमा पूर्णरुपमा प्राकृतिक तवरबाट बिरामीहरुको उपचार गरिएको र यहाँ निको भएर घर जाने क्रम बढिरहेको उहाँको  भनाई छ ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले प्राकृतिक चिकित्सालयमा निकै प्रभावकारी तवरबाट बिरामीको उपचार भइरहेको बताउनु भयो । महानगरको सहयोगमा संचालित यस केन्द्रमा लक्षण नभएका संक्रमितहरुलाई राखेर उपचार गरिँदै आएको बताउँदै उहाँले यहाँको उपचार प्रभावकारी भएको दाबी गर्नुभयो । 

महानगरमा रहेका संक्रमितहरुलाई यहाँ राखेर उपचार गरिएको र केही संक्रसिमतहरु होम आईसोलेसनमै बसेर पनि निको हुनु भएको उहाँले जानकारी दिनुभयो । महानगरभित्र १ हजार १३ जनामा संक्रमण भएको र तीमध्ये २ सय ६६ जना निको भएर घर फर्किएको उहाँको भनाई छ । महानगरमा कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको बताउँदै उहाँले  आगामी दिनमा थप चुनौती भएकाले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । 

आफूहरुले महानगरमा कोरोना संक्रमण फैलन नदिन ६ वटा स्थानमा क्वारेन्टाईन संचालन गरेको पनि उहाँले बताउनु भयो । कोरोनाबाट बच्न सरकारले निर्दिष्ट गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस