प्रहरीले नै डाक्यो पञ्‍चायती : प्रमाण जुटाउने काम मेरो हो कि प्रहरीको ? – पीडित

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ असोज २०७७, ०७ : ३८
प्रहरीले नै डाक्यो पञ्‍चायती : प्रमाण जुटाउने काम मेरो हो कि प्रहरीको ? – पीडित

सप्तरी । छिमेकीको ‘कुटपिटबाट गर्भ तुहिएपछि’ न्याय माग्दा प्रहरीले नै पञ्चायती बोलाएर कुरा मिलाउन खोजेपछि सप्तरी लौनियाकी एक महिला विलखबन्दमा परेकी छन् ।‘मेरो गर्भमा रहेको बच्चाको के दोष रु,’ सप्तरीको तिलाठी कोइलाडी–२ लौनियाकी २५ वर्षीया सञ्जुदेवी मण्डलले बिहीबार दिउँसो भक्कानिँदै भनिन्, ‘मेरो तुहिएको बच्चा कसले ल्याइदिन सक्छ र ?’

गत साउन १९ को बिहान स्थानीय सफिद मन्सुरी र उनका छोरा सदिकले खेतमा गएका बेला कुटपिट गरेका कारण आफ्नो गर्भ तुहिएको उनको दाबी छ । टोलभन्दा पश्चिम नहरको छेउमा रहेको खेतमा लगाइएको धान बालीमा पशुचौपाया चराएको तथा बाली मासिने गरी माछा मारेको देखेपछि आफूले धान क्षति हुने गरी किन माछा मारेको भन्दा बाबुछोराले आफूलाई निर्घात कुटपिट गरेको उनको भनाइ छ । ‘जेनतेन खेतमा रोपाइँ गरेको थिएँ, धानको बोट भर्खर चलेको थियो, त्यो बेला बोट मडारिने गरी माछा मारेको देख्दा मन रोयो,’ उनले भनिन्, ‘त्यही विषयमा भन्दा मलाई कुटपिट गरियो ।’

कुटपिटपछि आफू घर आउँदा अत्यधिक रक्तस्राव भएको उनले सुनाइन् । ‘धेरै रगत बगेपछि म उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज गएँ तर कोरोना संक्रमणका कारणले अस्पताल बन्द थियो,’ उनले भनिन्, ‘त्यसपछि म माइती गएँ, त्यहाँ स्थानीय औषधि पसलबाट औषधि किनेर खाएँ ।’ अस्पताल खुलेपछि जाँच गराउँदा आफ्नो गर्भ तुहिएको स्वास्थ्यकर्मीले बताएको उनले सुनाइन् । ‘अस्पतालमा मलाई भिडियो एक्सरे गर्न भने,’ उनले भनिन्, ‘रिपोर्टमा गर्भ तुहिएको देखियो ।’

उपचार गरेर फर्केपछि वडाध्यक्षलगायत समाजका अगुवाहरूलाई आफूमाथि भएको अन्यायबारे सुनाइन् । वडाध्यक्षले कानुनी उपचार खोज्न सुझाए । तर गाउँका अन्य केहीले भने पञ्चायती डाकेर गाउँमै समस्या समाधान गर्न भने । पञ्चायतीले निसाफ दिलाउला भन्ने आशा सञ्जुलाई भएन । ‘मेरो गर्भको बच्चा संसारमा आँखा नखोल्दै मारियो,’ उनले भनिन्, ‘यो अपराधलाई पञ्चायतीले कहाँ न्याय दिन सक्छ रु’

गाउँमा भएका अपराध गाउँमै मिलाउन खोज्ने पञ्चायतीलाई जोड बलले छल्दै सञ्जुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडकमाथि कारबाही होस् भनी उजुरी दिएकी थिइन् । त्यसउपर प्रहरीले कानुनी कारबाही चलाउला भन्ने सञ्जुलाई लागेको थियो । तर, त्यसविपरीत प्रहरीले नै पञ्चायती गुहारेपछि न्याय पाउने उनको आसमा बज्रपात भएको छ ।

‘तिलाठी भन्सारस्थित प्रहरी चौकीबाट पञ्चायती बस्न आउन मलाई भनियो,’ उनले भनिन्, ‘त्यहाँ पुग्दा मलाई कुट्ने र अरू पाँच–सात जना पुरुषहरू पनि थिए । सुरुमा कुटपिट गरेको उनीहरूले स्विकारेनन्, पछि एक–दुई थप्पड हानेपछि हो भने ।’ आफू कानुनी कारबाही हुनुपर्ने पक्षमा रहेको भन्दै सञ्जुले मिल्न अस्वीकार गरिन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस