काठमाडौं । समाजमा अन्याय भए ‘पञ्चलाई बसाउनू’ भन्ने मान्यता ग्रामीण समाजमा अझै कायम छ । तर, पञ्चहरूकै निर्णयले १७ वर्षीया किशोरी आत्महत्या गर्न बाध्य भएकी छन् ।
सामूहिक बलात्कृत भए पनि पञ्चायतीबाट न्याय नपाउँदा सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीता मण्डलले सोमबार राति आत्महत्या गरेकी हुन् ।
राति पानी परेकाले खेतमा जमेको पानी कटाउन सोमबार बिहानै संगीता खेततर्फ गएकी थिइन् । पुग्नासाथ गाउँकै चार जनाले घेरा हाले । खेतमा लछारपछार पारे । आलीमा राखेर उनको कपडा फुकाल्न थालेपछि उनी रोइकराई गर्न थालिन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीका अनुसार चारै जनाले मुख थुनेर उनलाई सामूहिक बलात्कार गरे ।
छोरी फर्केर खाना पकाउलिन् भनेर आमा घरको अन्य काममा लागेकी थिइन् । तर संगीता च्यातिएको कपडा र अर्धचेत अवस्थामा फर्किइन् । घटनाबारे बताउँदा बताउँदै उनी बेहोस भएकी थिइन् ।
आमाले छरछिमेक गुहारिन् । तत्कालै साथ दिने कोही भएन । बलात्कारीहरू गाउँ आए र दबाब दिन सुरु गरे । पीडित किशोरीकी आमा दोषीलाई कारबाही गराउन साथ दिन भन्दै टोलदैलो चहार्न थालिन् । दिउँसो ८–१० जना कथित पञ्चहरू भेला भए । उनीहरूमध्ये कसैले पनि संगीताका पक्षमा बोलेनन् । सुरुमा बिनाआधार बलात्कारको आरोप लगाएको भन्दै उल्टै झपारे । ‘घटनाबारे प्रहरीमा उजुरी दिए टोलबस्तीबाटै नाकाबन्दी गरिदिने भन्दै पञ्चहरूले धम्क्याए,’ एक स्थानीयले भने ।
पञ्चहरूले वडाध्यक्षलगायत कुनै जनप्रतिनिधिसम्म घटनाको सुइँको पनि पुग्न दिएनन् । बलात्कारको कुरा बाहिर गए टोलसमाजको बेइज्जती हुने र संगीताको बिहे कतै नहुने भन्दै गाउँमै मिल्न दबाब दिए । बलात्कृत भएपछि पटकपटक बेहोस बनेकी संगीताको उपचारमा न कसैले चासो दियो, न त न्याय पाउने आस नै रह्यो । राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ असोज २०७७, ०८ : ०७
लेखकबाट थप