कोरोना भाइरस

यी हुन् विश्वका दस देश, जहाँ कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ

सूर्यप्रकाश कँडेल

आइतबार, २८ भदौ २०७७, १३ : ४०
यी हुन् विश्वका दस देश, जहाँ कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ

चितवन । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय अर्को छिमेकी मुलुक भारतमा तीब्र गतिमा फैलिइरहेको छ । नेपालमा पनि कोरोना संक्रमण फैलिँदो क्रममा छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिकामा छ । वर्ल्डओमिटरका अनुसार, आइतबारसम्म अमेरिकामा कुल संक्रमित संख्या ६६ लाख ७६ हजार ६ सय १ छ । कोरोना संक्रमणबाट हालसम्म अमेरिकामा एक लाख ९८ हजार १ सय २८ जनाको मृत्यु भइसकेको छ ।

दोस्रो स्थानमा रहेको भारतमा कुल संक्रमित संख्या ४७ लाख ५४ हजार ३ सय ५६ छ । भारतमा हालसम्म ७८ हजार ६ सय १४ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । तेस्रो स्थानमा रहेको ब्राजिलमा कुल संक्रमित संख्या ४३ लाख १५ हजार ८ सय ५८ र कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार २ सय ७४ पुगेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा अरु देशलाई उछिनेको रसियामा कुल संक्रमित १० लाख ५७ हजार ३ सय ६२ जना पुगेका छन् । रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने १८ हजार ४ सय ८४ छ । पाँचौँ स्थानमा रहेको पेरुमा कुल संक्रमित संख्या १० लाख ५७ हजार ३ सय ६२ र कुल मृतक संख्या ३० हजार पाँच सय ९३ छ ।

छैटौँ स्थानमा रहेको कोलम्बियामा कुल संक्रमित ७ लाख ८ हजार ९ सय ६४ जनामध्ये २२ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ । सातौँ स्थानमा रहेको मेक्सिकोमा कुल संक्रमित ६ लाख ६३ हजार ९ सय ७३ जनामध्ये ७० हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । आठौँ स्थानमा रहेको दक्षिण अफ्रिकामा कुल संक्रमित संख्या ६ लाख ४८ हजार २ सय १४ छ, जसमध्ये १५ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको छ ।

स्पेन कोरोना संक्रमितको कुल संख्याको आधारमा नवौँ स्थानमा रहेको छ । स्पेनमा कुल संक्रमित ५ लाख ७६ हजार ६ सय ९७ जनामध्ये २९ हजार ७ सय ४७ जनाको मृत्यु भइसकेको छ । दसौँ स्थानमा रहेको अर्जेन्टिनामा कुल संक्रमित ५ लाख ४६ हजार ४ सय ८१ जनामध्ये ११ हजार २ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस