शहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

रासस

शनिबार, २७ भदौ २०७७, ११ : १९
शहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

काठमाडौँ । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी खेती प्रवद्र्धनमा लागेका नेपाल एग्रो लाइभप्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरेले भने ।

शहरमा सीमित जग्गा हुने अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ । नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम  र परामर्श दिन्छ । साना, थोपा र मिस्ट सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लाष्टिक घर बनाउन यसले काम गर्दै आएको छ । 

अहिले कोरोनाले चिन्ता थपेको छ । लकडाउन, कफ्र्यूले घरमै बस्नुपर्दा फुर्सदको उपयोग, शारीरिक परिश्रम र मन बहलाउन यो खेती उपयोगी बनेको छ । यसमा धेरैजसो माटोको प्रयोग गरिएपनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खदिलो रुपमा तयार पारिएको “कोकोपीट” प्लाष्टिकको झोला “ग्रो ब्याग” मा राखी बिरुवा रोपिन्छ । कोकोपीटमा अर्गानिक मलसहितका पौष्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ । रोगबाट बच्न निमको तेल छरिन्छ ।

रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपीटको प्रयोग बढेको छ । पाँच केजीको नौ वटा ब्लक भयो भने त्यसले ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिने कार्यकारी अधिकृत गैरे बताउछन् । प्रदूषण र तापक्रम केही कम गर्न र घरको सुन्दरता बढाउन यो खेती गरेको पाइन्छ ।  नेपाल एग्रोले नुवाकोटको किम्ताङ र बुम्ताङका कृषकलाई आधुनिक तरकारी उत्पादनसम्बन्धी कार्यक्रम, काभ्रे तिमालका कृषकलाई आकाशे पानी सङ्कलन, दामनमा विविध सिँचाइ, काठमाडौं टोखाको लक्ष्मिपुर कृषि फार्म, ललितपुर सुनाकोठीको गणपति यल कृषि फार्म र सुयोग आधुनिक कृषि फार्मको लागि व्यावसायिक खेती गर्न सर्वे डिजाइनलगायत प्राविधिक सेवाको काम गरिसकेको छ ।

संस्थाले नख्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोट, कोलोनीसहित सयजति घरमा पुगेर कौसी खेतीको तालीम दिएको छ । “५० ब्यागमा तरकारी  लगाउँदा सानो परिवारलाई मासुबाहेक मौसम अनुसारका ताजा तरकारी खान पुग्छ”, गैरे भन्छन् । यसमा करेला, घिरौला, सीमी, बोडी, खुर्सानी, क्याप्सीकम, गोलभेडा, धनियाँ, बर्खे साग, भेडीलगायत मौसम अनुसारका तरकारी लगाउन सकिन्छ ।

नेपाल एग्रोले बिरुवा, बीउ, मल, ब्याग, परामर्श र सामग्रीसहित प्याकेजमा करिब रु १५ हजारमा सेवा दिएको हिकास्टबाट कृषि विज्ञानमा स्नातक संंस्थाका कृषि अधिकृत सार्थक गैरेले बताए । “थोपा सिँचाइ लगाउन सकिन्छ, तर अहिले पानी हाल्ने हजारी दिएका छौँ”, अधिकृत सार्थक थप्छन्  । ब्यागमा  बेलाबेलामा मल थप्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस