ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने निर्णय, आगामी चैतमा महाधिवेशन हुने

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, १७ : ४८
ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने निर्णय, आगामी चैतमा महाधिवेशन हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्षद्वयको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सरकारलाई सफल पार्ने निर्णय भएको छ ।

अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने पनि निर्णय भएको उनले बताए ।

बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका थिए । उक्त धारणामाथि अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए।

असार १० देखि जारी स्थायी कमिटी बैठक आज शुक्रबार सकिएको छ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस