आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी

रासस

शुक्रबार, २६ भदौ २०७७, १५ : ४५
आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी

चितवन (रत्ननगर) । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो ।

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भनिन्,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनेँ”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भइन् । अस्पतालबाट घर फर्किदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए । “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”,उनले भनिन्,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू संक्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताइन् । जिल्लाका कोरोना संक्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुर्व्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो ।

डा पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन । आइसोलेसनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो । कोरोना संक्रमण भएकै बेला उनले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरिन्।

कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुन् । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उनले भनिन्,“मलाई सुरुमा सुख्खा खोकी देखा पर्‍यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरेँ । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उनको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि संक्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउँछिन् । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ । साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताइन् ।

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले संक्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उनले आग्रह गरिन् । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उनी २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएकी थिइन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको संक्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहन सकिनन् । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्थिन् । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उनले भनिन्,“छोरालाई सर्‍यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना संक्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस