कोरोना कहर : १२ लाखको माछा नष्ट

रासस

मंगलबार, २३ भदौ २०७७, ११ : ५२
कोरोना कहर : १२ लाखको माछा नष्ट

बागलुङ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो ।

“बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे”, फार्मका सञ्चालक पदम खत्रीले भने, “झण्डै रु १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।” उनका अनुसार गत चैत यता ९०० केजी जति माछा त्यसै खेर गयो । 

दुई पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् । बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताए ।  कोरोना सङ्क्रमणको जोखिम शुरु भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरु भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो ।

सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटलररेष्टुराँबाट माछाको माग आउँथ्यो । फार्मकै आडमा घरवास ९होमस्टे० पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो । फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेष्टुराँसमेत चलाएका छन् ।  चार जना मिलेर दुई वर्षअघि शुरु गरेको फार्ममा रु एक करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताए । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा एक लाखभन्दा बढी भुरा अट्ने क्षमता छ ।

यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालकको भनाई छ । फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् । बिक्रीका लागि योग्य माछा एक हजार २ सय किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकहरुमा छ । 

बेच्न योग्य हुँदा तीन वटा माछाको तौल एक किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरु गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । 

प्रतिक्रिया दिनुहोस