देवघाटमा वृद्धवृद्धालाई निःशुल्क सेवाका नाममा निजी आश्रमको कमाउधन्दा

प्रकाश सिग्देल

सोमबार, २२ भदौ २०७७, १६ : ४०
देवघाटमा वृद्धवृद्धालाई निःशुल्क सेवाका नाममा निजी आश्रमको कमाउधन्दा

चितवन । बुढेसकालमा आफ्ना सन्तानसंगै उनकै काखमा रमाउँदै बितेका पलहरुको धमिलोधमिलो गरी भए पनि सम्झँदै नातिनातिना खेलाउँदै सन्तानको प्रगति हेर्ने समयमा, धर्मशालामा एक्लो जीवन बाँच्ने रहर सायद कसैलाई नहोला । त्यो पनि यस्तो कोरोनाको महामारीका बेला । 

एउटा आमाबुबाले आफ्नो सन्तानलाई हुर्काउन कति मेहनत गर्नुहुन्छ होला, त्यो सबैलाई ज्ञान भएकै बिषय हो । तिनै आमाबुबा जसले आफ्नो सन्तानलाई यो धर्ती भोग गर्ने अवसर दिनु भयो, आज तिनै आमाबुबाहरुलाई आफ्ना सन्तानले धर्मशालामा बस्न बाध्य बनाएका छन् ।

शिक्षित र सम्भ्रान्तहरु नै यस्तो गलत कार्यको पक्षपोषण गरिरहेका छन् । नेपालको पवित्र धार्मिकस्थल देवघाटधाम यतिबेला यस्तै सन्तानले लखेटेका आमाबुबाहरुको आश्रयस्थल बनेको छ । जहाँ रहरले बस्नेहरु भन्दा बाध्यताले बस्नेहरुको संख्या अधिक छ । 

यतिबेला देबघाटमा हजारौँको संख्यामा वृद्ध बुबाआमाहरुले बिभिन्न कुटी र धर्मशालामा आश्रय लिन बाध्य भएका छन् । हुनेहरुले आफैले जमिन किनेर सानो कुटी बनाएर बसेका छन् भने नहुनेहरु अरुको सहयोगमा धर्मशालामा बसी जेनतेन प्राण धानेका छन् ।

देवघाटमा अधिकांश पीडामा परेका र सन्तानबाट अपहेलित आमाबुबाहरुको संख्या नै अधिक रहेको देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष टंकनाथ पौडेल बताउँछन् । 

देवघाट क्षेत्र विकासको आफ्नै वृद्धाश्रम छ, जहाँ परिवारविहीन ३० जनाभन्दा बढी वृद्धवृद्धाले निःशुल्करुपमा आश्रय लिएका छन् । त्यहाँ उनीहरु निकै ब्यवस्थित तवरबाट बसेका छन् । उनीहरुको खाना, बास, औषधि, उपचार सबै क्षेत्र विकास समितिले नै गर्दै आएको छ ।

परिवारविहीन असहाय वृद्धवृद्धाका लागि विभिन्न दाताहरुले आश्रयस्थल निर्माण गरी बस्ने र खाने प्रबन्ध गरेको बताएका छन् । एनआरएनएले एनआरएनए वृद्धाश्रम सञ्चालन गरेको छ भने रोटरी क्लबले पनि रोटरी करुणालय वृद्धाश्रम सञ्चालन गरेको छ ।

देवघाटका महन्तहरुले ठूला आश्रम सञ्चालन गरेका छन् । तर तिनीहरुको सेवा पारदर्शी बनेको छैन । पछिल्ला समयमा सन्तमहन्तले सञ्चालन गरेका आश्रमहरुले सेवाभन्दा पनि ब्यापरकै रुपमा धर्मशालालाई विकास गरेको गुनासाहरु आएका छन् । छोराछोरीले बिचल्लीमा पारेर आश्रयको खोजीमा देवघाट आएका वृद्धवृद्धाहरुसँग सन्तमहन्तहरुले कल्पबासमा आश्रय दिने नाममा लाखौँ रकम माग गर्न थालेको गुनासाहरु आएका छन् ।

देवघाटका ठूला आश्रमहरुले सम्पन्नशाली वृद्धवृद्धाहरुका लागि लक्षित गरी कल्पबास निर्माण गरेका छन्, जहाँ दर्जनौँ कुटीहरु रहेका छन् । ती कुटीहरुमा बस्न चर्को रकम तिर्नु पर्ने दुखेसो वृद्धवृद्धाको छ । त्यस्तै बिचल्लमिा परेका, आफ्ना भनेका कोही नभएका र सरकारी आश्रममा समावेश हुन नसेकाहरु एनआरएनएको वृद्धाश्रम र रोटरी करुणालयको आश्रममा बस्ने गरेका छन् । त्यहाँ पनि वृद्धवृद्धाहरुले शुल्क तिर्नु परेको बताउँछन् । एक जना वृद्धले वृद्धभत्ता बापतको रकम आश्रमलाई दिने गरेको बताए । 

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले त्यही भनाईलाई पुष्टि गरे । एनआरएनएको आश्रममा एक जना वृद्धले उसले बुझेको वृद्धभत्ताबाट वार्षिक ३० हजार रुपैयाँ बुझाउनु पर्ने र रोटरी करुणालयको आश्रममा त्योभन्दा केही रकम कम बुझाउनु पर्ने भन्ने आफूलाई जानकारीमा आएको बताए ।

आफूहरुले देवघाटलाई साँच्चै नमूना स्थान र वृद्धवृद्धाहरुको प्रमुख गन्तव्यका रुपमा विकास गर्ने गरी काम गरेको र कसैले कल्पबासमा बसेकासँग चर्को पैसा लिएको गुनासो आए क्षेत्र विकासले आवश्यक कारबाही गर्ने उनको भनाई छ ।

पैसा हुनेहरुका लागि मात्रै देवघाट र पैसा नहुनेका लागि देवघाटमा बस्ने ठाउँ पनि नपाउने अवस्था आएको सर्वसाधारणकोे ठहर छ । देवघाटमा वृद्धवृद्धाको अवस्था निकै कठिन र दर्दनाक भएको स्थानीय देख्ने भोग्नेहरु बताउँछन् । अहिले यो कोरोनाका कारण भने झन् अवस्था कठिन बनेको स्थानीयहरु बताउँछन् ।

परिवारले बिचल्लीमा पारेर देवघाटमा छाडिदिएपछि आमाबुबाहरु भोको पेट चौतारा र विभिन्न आश्रमको छिँडीमा रात कटाउनु पर्ने बाध्यता सृजना भएको बताइन्छ । पछिल्लो समयमा देवघाटमा दुःखी र असहायको संख्या अधिक रहेको बताइएको छ । देवघाटमा दिन प्रतिदिन असहाय, वृद्धवृद्धाहरुको संख्या बढ्दै जान थालेपछि दाताहरुको सहयोगमा सुविधासम्पन्न आश्रमहरु निर्माण हुने क्रम भने रोकिएको छैन । 

जति आश्रम निर्माण भए, त्यति नै वृद्धवृद्धाहरुले दुःख भने पाइरहेका छन् । देवघाटमा बस्ने वृद्धवृद्धाहरुको जीवन निकै कठिन बनेको छ । परिवारबाट अलग्याएर वृद्ध आमाबुबालाई देवघाटमा अलपत्र पार्नु निकै दुखद कुरा हो, यसमा हरेक परिवारले सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस