बक्सिङ खेलाडीको कोरोना बीमा

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १२ : २५
बक्सिङ खेलाडीको कोरोना बीमा

काठमाडौं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले  तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए । यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए ।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्व बक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन् ।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए । यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस