विश्वविद्यालयहरूले रोकिएका परीक्षा दशैंँअघि नै सञ्चालन गर्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०९ भदौ २०७७, ०८ : २३
विश्वविद्यालयहरूले रोकिएका परीक्षा दशैंँअघि नै सञ्चालन गर्ने

काठमाडौं । विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने भएका छन् । उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् ।

कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिए । असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।

सर्वाधिक संख्यामा विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले बताए । ‘साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएर अवस्था सहज हुँदै जाँदा भदौमा परीक्षा लिने भनेका थियौं,’ उनले भने, ‘अवस्था बिग्रियो, परीक्षा स्थगित गर्नुपर्‍यो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिन्छौं ।’ अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए ।

वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ । त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी छन् । मुलुककमा उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजार विद्यार्थीमध्ये ७७ प्रतिशत त्रिविमा पढ्छन् । कान्तिपुर दैनिकमा खबर छ।