बिरामीको विश्वास जित्दैै भरतपुर अस्पताल, हालसम्म ९६ जना कोरोना संक्रमित पूर्णरुपमा निको

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, १५ : ५८
बिरामीको विश्वास जित्दैै भरतपुर अस्पताल, हालसम्म ९६ जना कोरोना संक्रमित पूर्णरुपमा निको

चितवन । चितवनलगायत यस आसपासका १९ जिल्लाको उपचारको गन्तव्य बनेको भरतपुर अस्पतालले पछिल्लो समय कोरोनालगायत अन्य बिरामीहरुको विश्वास जित्दै गइरहेको छ । चितवनलगायत विभिन्न जिल्लाबाट भरतपुर अस्पतालमा कोरोना संक्रमितहरु उपचारको लागि आइरहेका छन् । धेरै निको भएर घर फर्किरहेका छन् । 

भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित हुँदासमेत भरतपुर अस्पतालले सबै सेवालाई सञ्चालनमा ल्याएको छ । जिल्ला भित्र या बाहिरका निजी अस्पतालबाट पनि कोरोना संक्रमितहरु भरतपुर अस्पताल आइरहेका छन् । 

‘हालसम्म चितवनलगायत यस आसपासका विभिन्न जिल्लाबाट आएका ९६ जना कोरोना संक्रमितहरुलाई पूर्ण रुपमा निको बनाउन सफल भएका छौँ’ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने, ‘भरतपुर अस्पतालमा संक्रमितहरु आउनेक्रम जारी छ, लगातार उपचारमा खटिएका छौँ ।’ निको भएका कोरोना संक्रमितहरु भरतपुर अस्पतालको सेवाको उच्च प्रशंसा गर्दै घरफिर्ती भइरहेका छन् ।  

सूचना अधिकारी पौडेलका अनुसार हाल भरतपुरमा चितवनलगायत ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। संक्रमितहरु थपिनेक्रम निरन्तर जारी छ । उनका अनुसार भरतपुर अस्पतालले ७५ जना संक्रमितहरुलाई थेग्न सक्ने क्षमता राख्छ । 

अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवालाई भरतपुर अस्पतालले तत्काल सञ्चालन गरेपछि यस अस्पतालको उच्च प्रशंसा भएको छ । बिहीबार साँझदेखि नै सम्पूर्ण सेवा भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको हो । 

‘जस्तोसुकै परिस्थितिको बाबजुदमा पनि उपचार सेवालाई रोक्नु हुँदैन भन्ने मनसायले अघि बढेका छौँ’ भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भने, ‘अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए । अस्पतालका सेवा सञ्चालन भएसँगै सबै किसिमका बिरामीहरु अस्पताल आउन थालेका छन् ।’

अस्पतालले ७४ वर्षका क्यान्सरको चौथो तहका कोरोना संक्रमित बिरामीको समेत सफल उपचार गरेको उदाहरण दिँदै अध्यक्ष डा अधिकारीले भने, ‘गम्भीर प्रकृतिका संक्रमित बिरामीहरु पनि उपचारपछि निको भएर घर फर्केका छन् ।’

अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामीहरु सरकारी अस्पताल आइरहेका छन् ।

‘पछिल्लो समय अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आयो, जसले गर्दा अस्पताल सञ्चालनमा कुनै बाधा परेको छैन’ सूचना अधिकारी पौडेलले भने । उनका अनुसार निर्मलीकरण गरेर अस्पतालका सेवाहरु चलाउन थालिएको हो । 

‘चितवनलगायत यसआसपासका र तराईका विभिन्न जिल्लाको उपचार गर्ने थलो बनेको भरतपुर अस्पतालले हरेक सेवालाई प्रभावकारी बनाइरहेको छ’ अस्पतालका अध्यक्ष अधिकारीले भने, ‘कोरोना संक्रमितहरु आउनेक्रम बढ्दै गएमा भरतपुर अस्पताल अन्य सेवाका कक्षहरुमा समेत संक्रमितहरुलाई राखेर प्रभावकारी सेवा दिन तयार छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ‘वार्षिक १३ हजार हाराहारी प्रसुतीका लागि आउने गरेको छन्, यस्तो अस्पतालको सेवालाई प्रभावकारी बनाउन भरतपुर अस्पताल विकास समिति लागिरहेको छ’ अध्यक्ष डा अधिकारीले भने । 

अस्पतालको प्रयोगशालाले यतिबेला चितवनको मात्र होइन, अन्य १० जिल्लाको स्वाब परीक्षण गरेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पतालको कोभिड परीक्षणमा चितवनलगायत अन्य जिल्लाबाट पनि परीक्षणको लागि स्वाब आउने हुँदा चाप बढिरहेको छ । 

कोरोना संक्रमितको उपचारमा  नेतृत्वदायी भूमिका भरतपुर अस्पतालले गरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीको भनाइ छ । एउटा अस्पताल भए पनि त्यहाँभित्रका छुट्टाछुट्टै संरचनाका कारण कोरोना र अन्य बिरामीको उपचार सँगसँगै हुन सक्ने उनी बताउँछन् । 

अस्पतालको ए ब्लकको भुई तलामा छुट्टै व्यवस्थित ढङ्गबाट सङ्क्रमित राखिएको छ । अस्पतालले शुरुआती देखिनै ज्वरो, रुघाखोकीका बिरामीलाई छुट्टै बहिरङ्ग टिकट काट्ने ठाउँको समेत व्यवस्था गरेको छ । पुसदेखि पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र पहिलो कोरोना सङ्क्रमित भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले डा प्रमोद पौडेलको संयोजकत्वमा विभागीय प्रमुखसहितको १५ सदस्यीय टोली बनाएर सङ्क्रमितको उपचार गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कोरोना उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँछन् । कुनै समय निजी अस्पतालले सङ्क्रमण देखिना साथ भरतपुर अस्पताल बिरामी पठाउने गरेका थिए ।

३०३ जना कोरोना पुष्टि 

चितवन जिल्लामा हालसम्म ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा १६४ जनामा कोरोना संक्रमण देखिएको छ भने ११२ जना सक्रिय संक्रमित रहेका छन् । भरतपुर अस्पतालमा उपचार रहेका ४९ जना संक्रमितमध्ये ३६ जनामा कुनै लक्षण छैन । 

प्रतिक्रिया दिनुहोस