CG Landmark

प्रदेश ५ :  समुदायमा बढ्दै कोरोना सङ्क्रमण

रासस

शुक्रबार, ३० साउन २०७७, ०९ : ३३
प्रदेश ५ :  समुदायमा बढ्दै कोरोना सङ्क्रमण

रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । शुक्रबार रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको  सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ । 

Yeti Diistillery Tansen Cement box

सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा
कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।

प्रजिअ पन्थका अनुसार आइतबार सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइने छ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकावासीलाई सेवा दिइने छ । मङ्गलबार देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा बुधबार बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ ।

बिहीबार सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइने छ । आज मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तालिका बनाएको छ । यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने, शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो । 

चार जना बैंकका कर्मचारीमा कोरोना
बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् । चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।  अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो ।

तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ । 

पाल्पामा पहिलो पटक समुदायमा कोरोना
पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

महिलासँगै रहेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको हो । यहाँ सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस