भरतपुर कोभिड–१९ प्रयोगशालामा जनशक्तिको अभाव

रासस

मंगलबार, २७ साउन २०७७, १४ : २३
भरतपुर कोभिड–१९ प्रयोगशालामा जनशक्तिको अभाव

– नारायण अधिकारी
चितवन । चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ । 

स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कारण नमूना सङ्कलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरुको भनाइ छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालामा सातजना मात्र प्राविधिक जनशक्ति भएको बताउँछन् । तीमध्ये चारजना घाइते र बिरामी परेको उनको भनाइ छ ।

चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरुले समेत काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरुलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुईजना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एकजना प्राविधिक कार्यरत छन् । 

अधिकारी यो जनशक्तिले एक सिफ्टमात्र काम गर्न सक्ने बताउँछन् । अहिले प्रयोगशालामा दैनिक ११५ हाराहारी नमूनाको परीक्षण हुने गरेको छ । यसका कारण नमूना पठाएकाहरुले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।” हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ । प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उनले थपे, “भत्ताका कारण हामीले काम घटाएका छैनौं । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।”

स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५७४ स्वाबको नतिजासमेत निकालेको उनले स्मरण गरे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीनजना कर्मचारी थप गर्ने तयारी गरिएको बताए ।

जनशक्तिकै अभावका कारण नमूनाको नतिजा निस्कन समस्या भएको भन्दै उनले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताए ।

मन्त्रालयले रु दुई करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उनले अस्पतालले रु चार करोड ५० लाख माग गरेको बताए । चैत २३ गतेबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २०० नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ४०० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उहाँले जानकारी दिए ।

दुई हजारलाई कारबाही
कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ । लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । मास्क नलगाई हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उहाँले जानकारी दिए । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।

व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उहाँले बताए । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उनको भनाइ छ । लकडाउन खुकुलो भए पनि कोरोनाको सङ्क्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरुमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेरमात्र पठाउने गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस