सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम

रासस

शनिबार, २४ साउन २०७७, १० : १५
सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम

महोत्तरी । महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ । यसपालि मध्य असारसँगै शुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो । 

बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन् । खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चल्न छाडेको पनि एक महिना हुन लागेको छ । खासमा असार अन्तिम साताको छ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन् । यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन् । 

यद्यपि काम थालिएको दुई वर्ष नाघ्दा पनि परिणाममुखी नतिजा भने नदेखिँदा सर्वसाधारणमा सडक बन्ने आश मरेको छ । यीबाहेक पूर्वपश्चिम राजमार्गको अवस्था पनि अत्यन्त नाजुक छ । पूर्वमा रातु नदीको पुलदेखि पश्चिममा बाँके नदीको पुलसम्मको महोत्तरीमा पर्ने राजमार्ग क्षेत्रमा सयौँ सङ्ख्याका ठूलठूला खाल्डा बनेका छन् । सडक भत्कन थालेसँगै तत्काल मर्मतसम्भारका काम नगरिँदा सडकको दूरावस्था बढेको हो । अचेल राजमार्गका यी असङ्ख्य खाल्डाखुल्डीले दुर्घटना जोखिम निकै बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक कैलाश खत्री बताउछन् । 

राजमार्गमा खाल्डाखुल्डीले बढाएको दुर्घटना जोखिम टार्न ट्राफिक प्रहरीले बजारचोक क्षेत्रमा खाल्डा बनेका ठाउँमा ‘ट्राफिक कोण’ बनाएको छ । दिनहुँ खाल्डा बढ्दै जाँदा ‘ट्राफिक कोण’ पनि कति ठाउँ राख्ने भन्ने समस्या बढेको खत्रीको भनाई छ । राजमार्गका पुलको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । पूर्वमा धनुषासँगको साँधको रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको सीमा बाँके नदीको पुलबीचमा सानाठूला गरी १५-१६ वटा पुल छन् । सबैजसो पुलमा कालोपत्रे उधिनिएर खाल्डैखाल्डा बढेका छन् । रातु, रातुछहरा, भब्सी, अटाबे, जङ्घा, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, ढोलनखोला, मरहा, खयरमारा र बाँके नदीलगायतका पुल जीर्ण भएका छन् । 

पुलको कालापत्रे उप्केर ठाउँठाउँमा भ्वाङ परेका छन् । यीमध्ये जङ्घामा तीन वर्ष पहिले पुलको मर्मतसम्भार र रातुमा दुई वर्ष पहिलेमात्र नयाँ पुल प्रयोगमा आएको हो । अहिले सबैभन्दा बढी भ्वाङ रातु पुलमै परेका छन् । राजमार्गको यात्रा जोखिमपूर्ण भए पनि विकल्प नभएपछि सडक यात्रु यो जोखिम मोलेरै यात्रा गर्ने गरेका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाको अनुभव छ । खासमा रातुमा नयाँ पुल निर्माण भएर प्रयोगमा आएको केही दिनभित्रै पुलमाथि खाल्डाखुल्डी बढेपछि निर्माण चरणमै कमसल सामग्री प्रयोग गरिएको यस भेगका सर्वसाधारणको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस