आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, ०८ : ५३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम  सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहे पनि मनसुनी वायुको प्रभाव कायम रहेको महाशाखाले उल्लेख गरेको छ ।

अहिले प्रदेश २ मा प्रदेश ५ का केही भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा समान्य देखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुने मौसमविदले जनाएका छन् ।

यस्तै राति अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस