CG Landmark

‘रोगप्रतिरोधी क्षमता बढ्दा कोरोना पोजेटिभ, नेगेटिभ हुन्छ’

रासस

बुधबार, २१ साउन २०७७, २१ : ३१
‘रोगप्रतिरोधी क्षमता बढ्दा कोरोना पोजेटिभ, नेगेटिभ हुन्छ’

काठमाडौं । गएको चैत १४ गते सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कोभिड–१९ का एक जना सङ्क्रमित प्रदेशको राजधानी जिल्ला कैलालीमा भेटिएको पुष्टि भयो । त्यसपछिको दुई हप्ताभित्रमा जम्मा पाँच जनामा कोरोना भाइरस सङ्क्रमण भएको भेटिएपछि कैलाली जिल्ला शुरुको अवस्थामा कोभिड–१९ को ‘इपिसेन्टर‘का रुपमा देखिँदा एक खालको सन्त्रास मात्र बढेन, सबैको ध्यान यो जिल्लामा पुग्यो । 

सङ्क्रमित फेला परेसँगै सरकारले सेती प्रादेशिक अस्पताल धनगढीलाई तत्कालै ‘कोभिड–१९ डेडिकेटेड अस्पताल’का रुपमा तोक्यो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डा शेरबहादुर कमरलाई ‘कोभिड–१९ उपचार विभाग’ प्रमुखमा तोकेर सङ्क्रमितको उपचार र व्यवस्थापनको काम अघि बढ्यो । 

Yeti Diistillery Tansen Cement box

विश्वमा कोरोनाका कारण धेरै व्यक्तिको ज्यान गएका खबर सार्वजनिक भइरहँदा देखिएको सन्त्रास र उच्च जोखिमका बीच कैलाली जिल्लामा भेटिएका सङ्क्रमितको उपचार, निगरानी र व्यवस्थापन गर्न डा कमरको नेतृत्वको टोलीले हिम्मत हारेन । पर्याप्त सुरक्षा सामग्रीको अभावका बाबजुद अग्रपङ्क्तिमा रहेर यो टोलीले शुरुको अवस्थामा भेटिएका सबै सङ्क्रमितमा केही हप्ताभित्रमा ‘कोरोना नेगेटिभ’को नतिजा ल्याउन सफलता पायो । 

सङ्क्रमित बिरामीको उपचार र व्यवस्थापन कार्यमा अस्पतालका फिजिसियन डा निराजनदत्त पौडेल, डा सन्तोष पाण्डे, मेडिकल अधिकृत डा अशोक चौधरी, डा समीर खान डा विजयविक्रम बमका साथै नर्सिङ र प्रयोगशालाको टोली र सरसफाइ कर्मचारीको योगदान पनि महत्वपूर्ण रहेको डा कमर बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको उपचार, निगरानी लगायतको कामका लागि खटिनुहुने डा कमरले राससका सिद्धराज भट्टसँग मङ्गलबार गर्नुभएको कुराकानी—  

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का बिरामी भेटिएपछि पहिलो पटक उपचार व्यवस्थापनको काम तपाइँंको नेतृत्वको टोलीले ग¥यो, उपचार गर्दा भोगेका समस्या र अनुभव के छन् ?
डा कमरः नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएपछि चौथो केश सुदूरपश्चिम प्रदेशमा देखिएको हो । कोरोना भाइरस नयाँ रोग भएका कारण विश्वमा धेरै मानिसको मृत्यु भएको अवस्थामा सबैमा त्रास र हतास मनस्थिति थियो, तर यसलाई विस्तारै ‘म्यानेज’ गरियो । शुरुमा केही अप्ठ्यारो महसुस भए पनि धेरै गाह्रो भएन ।

सरुवा रोगको रुपमा रहेको कोरोना भाइरसको हालसम्म खास उपचार छैन । उपचार नभएकाले सङ्क्रमितमा जे जे समस्या देखिन्छन्, तिनको समाधानका लागि उपचार खोज्ने कुरा नै मुख्य उपचार हो । 

सेती प्रादेशिक अस्पतालमा शुरुको अवस्थामा भर्ना भएका सङ्क्रमित सबै जनालाई ३५÷३६ दिनमै ‘कोरोना नेगेटिभ’ नतिजा ल्याउन कसरी सफलता पाउनुभयो ?
आश्वस्त पार्नुपर्छ । यसबाहेक सङ्क्रमितसँग बारम्बार कुरा गर्ने, प्रत्येक दिन केही समस्या छ छैन भनेर सोधपुछ गरिरहने गर्नुपर्छ ।

विशेषगरी बिरामीलाई आश्वस्त पार्ने र रोगसँग लड्नसक्ने क्षमता बढाउनका लागि के के कुरामा सहयोग गर्नुपर्छ भन्नेमा ध्यान दिइ सोहीअनुसारको उपचार व्यवस्थापन गरिएकाले अहिलेसम्म एक जनाबाहेक सबै निको भएर घर फर्किनुभएको छ । 

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ तर अधिकांश सङ्क्रमितमा कुनै त्यस्तो लक्षण नदेखिएको भन्ने छ, किन होला ?
डा कमरः सङ्क्रमितमध्ये ९८÷९९ प्रतिशतमा कोरोनाको लक्षण देखिएको छैन । सामान्यतया यो एक प्रकारको भाइरल हो । भाइरल ‘इम्फेक्सन’ अरु रोगमा पनि हुन्छ । जतिमा सङ्क्रमण देखियो, ती व्यक्ति ‘एक्टिभ’ उमेरका रोगसँग लड्न सक्ने क्षमता भएका व्यक्ति नै बढी भएकाले लक्षण नदेखिएको हो । 

रोगसँग लड्न सक्ने क्षमता कमजोर भएका बच्चाबच्ची, वृद्धवृद्धा र दीर्घरोगीमा यो रोगको ‘इम्फेक्सन’ हुँदा लक्षण देखिने गरेको तथ्याङ्क छ ।

पछिल्लो  समयमा बन्दाबन्दी खुकुलो भएसँगै रोगको जोखिम थप बढ्न सक्ने भन्ने जोखिम र भय देखिन्छ, यस्तो अवस्थामा के सुझाव दिनु हुन्छ ?
डा कमरः अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने जोखिम घटेको भन्न मिल्दैन । जोखिम यथावत छ । लकडाउन खुल्दा मान्छेको चहलपहल र भीडभाड बढेको छ । यस्तो अवस्थामा समुदायमा लुकेर रहेका ‘केश’ फैलिन सक्ने सम्भावना छ । अहिले पनि जोखिम छ, परीक्षणको दायरा बढाउन जरुरी छ । समुदायमा लुकेर बसेका केशबाट एक आपसमा रोग सर्नसक्ने जोखिम छ ।

आइसोलेशनमा बसेका सङ्क्रमित बिरामीको उपचार गर्दा खासगरी के के कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ ?
डा कमरः लक्षण नदेखिएका बिरामीलाई मापदण्डअनुसार भर्ना गर्नु पर्दैन, कुनै औषधि दिन आवश्यक पनि हुँदैन । यस्ता बिरामीलाई केवल एकान्तवासमा तोकिएको नियमअनुसार राख्दा राम्रो हुन्छ । घर र आइसोलेशनमा बस्न नसक्ने र लक्षण भएका व्यक्तिलाई भर्ना गर्ने गरेका छौँ ।

अरुलाई सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई भर्ना गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमितमा जटिलता देखियो भने एक दुई दिनमा नै थप गम्भीर अवस्था हुनसक्ने हुँदा निजलाई निरन्तर निगरानीमा राख्नुपर्ने हुन्छ । त्यसमा ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने हुन्छ । अक्सिजनको मात्रा घट्दा बिरामीको अवस्था थप बिग्रन सक्छ । यस्तो अवस्थामा तत्काल अक्सिजन र भेन्टिलेटरमा राख्न सकेनौँ भने बिरामीको मृत्यु हुनसक्छ ।

पछिल्लोपटक कतिपय जिल्लामा समुदायमा पनि कोरोना फैलिरहेको भन्ने खबर सार्वजनिक भइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा यस्तो अवस्था सिर्जना भएमा प्रादेशिक अस्पतालको पूर्वतयारी कस्तो छ ? 
डा कमरः प्रादेशिक अस्पतालले आफ्नो क्षमताअनुसार काम गरिरहेको छ । केश बढ्दै गएमा उपचारका लागि गर्नुपर्ने पूर्वतयारीका बारेमा स्वास्थ्यकर्मीलाई सजग गराउने काम भइरहेको छ । अस्पतालमा ५० श्यया कोभिड–१९ को वार्डका लागि छुट्याइएको छ । चार श्यया आइसियुका लागि छुट्याइएको छ । 
 आवश्यक जनशक्ति र उपकरणसहित थप पूर्वाधार जुटाउन सकेमा अस्पतालको अहिलेको क्षमता बढाउन सकिन्छ । विदेशमा जस्तो समुदायमा धेरै केश फैलिएको अवस्था सिर्जना भएमा भने सेती प्रादेशिक अस्पताल र नेपालले पनि धान्न सक्ने अवस्था रहँदैन । 

भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको समस्या भयावह बन्दै गइरहेको अवस्थामा उक्त प्रदेशसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा यसको जोखिम कतिको देख्नुहुन्छ ?
डा कमरः भारतमा झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी कामका लागि जाने गरेको आँकडा रहेको अवस्थामा त्यहाँ सङ्क्रमणको अवस्था बढ्दा यो प्रदेशमा पनि जोखिमको अवस्था रहन्छ नै । अहिलेसम्म भेटिएका केशमध्ये अधिकांश भारतबाट आउनेमा देखिएकाले अझै पनि जोखिम यथावत छ । 

अन्त्यमा कोरोना सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई के सल्लाह सुझाव दिनुहुन्छ ? 
डा कमरः सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिमा यो रोग सर्न सक्ने भएकाले सङ्क्रमितको सम्पर्कमा आउनु हुँदैन । तोकिएको मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, पटकपटक साबुनपानीले मिचीमिची हात धुने र भीडभाडमा जानुहुँदैन ।

प्रतिक्रिया दिनुहोस