आसेपासेबाट होइन, लोकसेवाबाट पदपूर्ति गर्न अनेरास्ववियुको माग

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १७ : ०४
आसेपासेबाट होइन, लोकसेवाबाट पदपूर्ति गर्न अनेरास्ववियुको माग

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूले लोकसेवा आयोगको विज्ञापनवाट मात्र  पदपुर्ती गर्न माग गरेको छ । हालै मन्त्रिपरिषदको वैठकले विभिन्न मन्त्रालयका लागि भनेर स्वीकृत गरेको कोटा तर्फ लक्षित गर्दै अनेरास्ववियूले लोकसेवा छलेर आसेपासेवाट पदपूर्ति गर्न नहुने वताएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा मंगलवार प्रकाशित विज्ञप्तिमा भनिएको छ,  ‘सुसासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनै पनि काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्ने गरी लोकसेवा आयोगलाई नै विज्ञापन माग गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौं ।’

अनेरास्ववियूले बढ्दो कोरोना महामारी नियन्त्रण गर्न उचित कदम चाल्न, परिक्षणको दायरा व्यापक रुपमा बढाउन र विद्यार्थीको कोरोना बिमा गर्न पनि सरकार समक्ष माग गरेको छ। यसैगरी अनेरास्ववियुले भाद्र १ गतेदेखि भर्ना अभिलेख राख्ने गर्ने  भन्ने सरकारको निर्णयको अपब्याख्या गरी विद्यालय संचालन गर्ने तयारी प्रति समेत आपत्ति प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालन सम्वन्धि संयन्त्रहरुले सरकारले जारी गरेको सुचनालाई गलत अर्थ लगाई भदौ १ गते देखि पठनपाठन शुरु गर्न भनी गरेको निर्देशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस