स्थायी समिति बैठक यत्तिकै टुङग्याउने प्रधानमन्त्री ओलीको दाउ

प्रधानमन्त्री केपी ओलीले आफु निकट नेताहरुलाई स्थायी समिति अब यत्तिकै सकियो, कार्यक्षेत्र जानुस् भन्दै काठमाडौं बाहिर पठाउन थालेका छन्

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, ०९ : ३९
स्थायी समिति बैठक यत्तिकै टुङग्याउने प्रधानमन्त्री ओलीको दाउ

काठमाडौं । नेकपामा स्थायी समिति बैठक १० असारयता जारी छ । यो बैठक अहिले स्थगितको अवस्थामा छ । पार्टीभित्र विवादै विवादका चाङ उत्तिकै छ । सचिवालय, स्थायी समिति दुवै कमिटिले विवाद समाधानको सूत्र फेला पार्न सकिरहेको छैन् ।

यही बीच १५२ केन्द्रीय सदस्यले विवाद अब केन्द्रीय समितिमा गहन छलफल गरेर त्यहीबाट समाधानको खोजी गर्नु पर्ने भन्दै बैठकको माग गरेका छन् । ४४१ सदस्यीय केन्द्रीय समितिमा बैठक माग गर्ने यो संख्या झण्डै ३५ प्रतिशत सदस्य संख्या हो । नेकपाको पार्टी अन्तरिम विधानको धारा ५९ (क) ४  मा कुनै पनि कमिटिका २५ प्रतिशित सदस्यले लिखित रुपमा बैठक माग गर्न सक्ने ब्यवस्था छ । अरु कमिटिका १५ दिन र केन्द्रीय कमिटिको त्यसरी बैठक माग गरेको एक महिनाभित्र बैठक वोलाईसक्नुपर्ने विधानको ब्यवस्था छ । 

तर, ओली पक्ष पार्टी कमिटिको बैठक बोलाउने पक्षमै देखिएको छैन् । उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विग्रह तत्कालका लागि समाधान गर्न भन्दै ओलीलाई प्रतिनिधीसभाको बाँकी कार्यकाल सम्मै प्रधानमन्त्री र एकता महाधिवेशन सम्मै अध्यक्ष कायम गर्ने र प्रचण्डलाई भने सम्पूर्ण रुपमा कार्यकारी अधिकार दिएर जानुपर्ने सहितको ६ बुँदे प्रस्ताव अगाडी सारेपछि ओली पार्टीभित्रको आफ्नो संकटमा केही राहत मिलेको अनुभूति गर्न थालेका छन् ।त्यसकारण उनी बैठक बोलाउन परे सचिवालय बोलाउने तर जारी स्थायी समिति र केन्द्रीय समिति भने अहिले नबोलाउने पक्षमा देखिएका छन् ।

जारी स्थायी समिति बैठकलाई त ओलीले त्यसै कुनै निर्णय बिनै सिध्याउन चाहिरहेका छन् । त्यही कारण पनि उनले आफु पनि स्थायी समिति बैठक बालुवाटारमै बस्दा पनि नजाने, गएपनि एक्कैछिन बसेर हिडिहाल्ने गर्दै आईरहेका थिए । अहिले त उनी यो बैठक राख्नै चाहदैनन् । सकभर यो बैठक त्यक्तिकै थन्कोमन्को कसरी पार्न सकन्छि भन्ने मात्र उनको दाउ देखिएको छ । उनले अब स्थायी समिति कि कुरा मिले बस्छ, की अब बस्दैन, तपाईहरु जिल्लातिर गए हुन्छ भन्दै आफु निकटका स्थायी समिति सदस्यलाई काठमाडौं बाहिर पठाईसकेका छन् ।

गण्डकी र प्रदेश ५ का मुख्यमन्त्री दुवैलाई ओलीले अब आफनै काममा लाग्न गए हुन्छ भनी पठाएका छन् । अर्का स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई जिल्ला गए हुन्छ भन्दै पठाएका छन् । ‘म त जिल्लातिर आएको छु, अब बैठक बस्ने ठेगान नै छैन्, किन काठमाडौं बस्नु भन्ने भयो, प्रधानमन्त्रीले पनि जिल्लातिरै गए हुन्छ अहिलेलाई, काठमाडौंमा बैठक बस्ने कुनै त्यस्तो सम्भावना छैन भन्नुभएको छ, म सर्लाहीतिर आएको छु,’–स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सफलखबरसँग भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अहिले अब बैठकको ठेगान नभएकोले आफु कार्यक्षेत्र फर्किएको बताए । ‘म पोखरा फर्किसकेको छु, अब सहमतिमा बैठकको वातावरण बने जान्छु, नत्र बैठक नै बस्दैन किन जाने ?’ मुख्यमन्त्री गुरुङले भने । ओलीले आफ्ना नेतालाई जिल्ला बाहिर पठाउनु, अध्यक्ष प्रचण्डसँग दुई दिन यता छलफलमा बस्न रुची नदेखाईरहनुले ओली बैठक टार्दै जान खोजेको देखिन्छ । उनी आफुले भनेका विषयमा सहमतिमा नआए सकभर पार्टी बैठकनै राख्न नचाहने गरी जान खोजेका देखिन्छन् । 

प्रतिक्रिया दिनुहोस