कोरोना निको हुनेको सङ्ख्या बढ्यो

रासस

शनिबार, १० साउन २०७७, २० : १४
कोरोना निको हुनेको सङ्ख्या बढ्यो

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन् । 

प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

छ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा नयाँ १०९ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो । 

आज सबैभन्दा बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन् । यस्तै सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ÷आठ, कपिलवस्तु र जाजरकोटमा छ÷छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन÷तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई÷दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक÷एक जनामा सङ्क्रण पुष्टि भएको छ । मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस