काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने आज मात्रै ५५८ नेपाली घर फर्किएका छन् । यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।
उद्धार उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।
एकै दिन मलेसियाबाट १६ शव ल्याइयो
मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो । आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो । यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।
दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ । मङ्गलबार पनि यी दुवै एयरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ साउन २०७७, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा सम्बद्ध रहेका तीन नेपालीको मृत्यु
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारत हुँदै नेपाल आउने
उद्वारको पर्खाइमा थप दुई सय बढी नेपाली, सम्पर्कविहीन विपिनको खोजी जारी
परराष्ट्रमन्त्री साउदसहितको टोली इजरायल प्रस्थान
इजरायलको युद्ध क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा तत्काल पहल थाल्न माओवादीको आग्रह
इजरायल आक्रमणमा १० नेपाली मारिए