पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा पहिरोको जोखिम बढेपछि सोमबारदेखि रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । जतिबेला पनि ढुंगा र पहिरो खस्न सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
बेलुकी ८ बजेबाट बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बर्तुङदेखि बुटवलसम्म यात्रा नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सडकका विभिन्न स्थानमा माथिल्लो भागबाट ढुंगा र पहिरो खसेको र रातिको समयमा देख्न नसकिने भएकाले सर्वसाधारणलाई केही दिनका लागि रातिमा यात्रा नगर्न आग्रह गरेको बताए । एक सातादेखि पटकपटक पहिरो खस्ने गरेको र पुनस् पहिरोको माथिल्लो भागबाट ढुंगा झर्न सुरु भएकाले अँध्यारोमा यात्रा नगर्न आग्रह गरिएको उनले बताए ।
विगत केही दिनदेखि परिरहेको वर्षा र जल तथा मौसम विज्ञान विभागले पनि केही दिन पानी पर्ने जनाएकाले रातिमा यात्रा गर्न खतरा भएको प्रहरी उपरीक्षक दीपक खरेलले बताए । सिद्धार्थ राजमार्गको गौडेपुल, कालीमाटी, चर्चरे, चौविसमाइल, हिउँदेखोला, पानीमिल, दोभान, सिद्धबाबालगायतका स्थानमा पहिरो खस्ने सम्भावना बढी रहेको सडक डिभिजनले जनाएको छ । खराब मौसमका कारण पुनः पहिरो जान सक्ने अवस्थालाइ ध्यानमा राखेर सावधानी अपनाउन प्रहरी र प्रशासनले सूचना जारी गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ साउन २०७७, ०८ : २९
लेखकबाट थप