छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न पुग्यो

पत्रपत्रिकाबाट

आइतबार, ०४ साउन २०७७, ०८ : ५५
छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न पुग्यो

छाङरु, दार्चुला । छाङरुका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ । लकडाउनसँगै भारत र चीनपट्टिका नाका बन्द गरिएपछि भने स्थानीय सौका समुदायलाई हातमुख जोर्नै समस्या आइलाग्यो । नेपाली बजारबाट खाद्यान्न ल्याउन बाटो छैन ।

जब चामल बोकेर हालै हेलिकप्टर छाङरु पुग्यो, त्यहाँका बासिन्दामा खुसीको सीमा नै रहेन । ‘बल्ल नेपाली नागरिक भएको अनुभूति भयो,’ स्थानीय नन्दनसिंह बोहराले भने । व्यास गाउँपालिकाका छाङरु र टिंकर गाउँ दार्चुला सदरमुकामबाट क्रमशस् २८ र ३२ कोस दूरीमा छन् । ‘हामीलाई सरकारले हेरेको थिएन । हामी गर्ब्याङ बजारबाट रासन लिएर परिवारको पेट भर्थ्यौं,’ छाङरुका बोहराले भने, ‘तर लकडाउन भएपछि भारत र चीनका नाका बन्द भए । कतैबाट रासन ल्याउन पाएका छैनौं ।’

गत वर्षसम्म स्थानीय बेंसीबाट फर्कने बेला ६ महिनाका लागि खाद्यान्न सँगै लगेर उक्लिने गरेका थिए । यो वर्ष कोरोनाका कारण लकडाउन भएपछि एक महिना ढिला गरी व्यासतिर कुञ्चा ९बसाइँ० सरे तर खाद्यान्न लैजान पाएनन् । छाङरु र टिंकर गाउँका लागि व्यास गाउँपालिकाको पहलमा दुई सय क्विन्टल चामल हेलिकप्टरमा पुर्‍याएको हो ।

सरकारले छाङरु र टिंकर गाउँका लागि ०६० सालसम्म बर्सेनि ३ सय क्विन्टल चामल ढुवानी गर्दै आएको थियो । घोडेटो राम्रो हुनाले चामल नियमित ढुवानी हुन्थ्यो । सशस्त्र द्वन्द्व चर्किएपछि सरकारले खाद्य संस्थानको बिक्री केन्द्र बन्द गरिएको थियो । १७ वर्षअघि स्थानीयले खाद्य संस्थानको चामल ३१ रुपैयाँ किलोका दरले किन्थे । सरकारले १७ वर्षपछि गत आइतबारबाट त्यस क्षेत्रमा चामल लगेको हो । ‘हेलिकप्टरबाट धेरै वर्षपछि चामल आएको छ,’ स्थानीय लालमती बोहराले भनिन्, ‘सरकारले हामीलाई बिर्सिसके जस्तै थियो । व्यासमा पनि नेपाली बस्दा रहेछन् भन्ने बल्ल थाहा पाएजस्तो लाग्यो ।’

५१ रुपैयाँ किलोमा चामल

सरकारले व्यासका गाउँसम्म चामल ढुवानीमा प्रतिकिलो २ सय ४९ रुपैयाँ ९८ पैसा अनुदान दिएको छ । त्यसैले स्थानीयले किलोको ५१ रुपैयाँमा चामल किन्न पाएका छन् । हेलिकप्टरबाट ढुवानी गरिएको चामल वडा कार्यालयको जिम्मा लगाएर बिक्री भइरहेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए । उनका अनुसार व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि छाङरु र टिंकरकै मूल्यमा चामल बिक्री भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस