नेपालमा सक्रिय संक्रमित ५,८२५ मात्रै, ३ लाख १२ हजार जनाको कोरोना परीक्षण

पत्रपत्रिकाबाट

आइतबार, ०४ साउन २०७७, ०७ : २८
नेपालमा सक्रिय संक्रमित ५,८२५ मात्रै, ३ लाख १२ हजार जनाको कोरोना परीक्षण

काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो ।

सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सकृय संक्रमितमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबार सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३९ जना रहेको थियो । शनिबार यो संख्या घटेर ५ हजार ८ सय २५ पुगेको हो । यसरी हेर्दा एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४ सय १४ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस