काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।
आयोजनाका प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो । गेट नम्बर १७ र गेट बल्बमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदै थिए । ‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या थियो,’ एक प्राविधिकले भने । उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् ।
‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनुका साथै बीचमा अडिटसँग जोडिएको गेट बल्बको नट वा गेट कुनै कारणले खुस्किएको हुन सक्छ,’ ती प्राविधिकले भने । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । मुख्य टनेललाई ‘फिलिङ’ गर्दै लगेर अन्य काम अगाडि बढाइएको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट ९गेट नम्बर १७० लाई बलियोसँग लगाउनका लागि ३ साता लाग्ने आयोजनाले जानकारी दिएको थियो ।
साताअघि मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्याएपछि मुहानस्थलमा कर्मचारी उत्साहसाथ खटिरहेका थिए । मंगलबार दिउँसो करिब १२ बजेतिर सुरुङबाट ‘ड्याम्म’ आवाज आयो । त्यतिखेर सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’ देखि ८ सय मिटरसम्म पानी भर्खरै पठाइएको थियो । मुख्य अडिट गेटसम्म पठाइएको सबै पानी एक्कासि फर्किएपछि सबैतिर खैलाबैला मच्चिन थाल्यो । सुरुङभित्र निरीक्षण गर्न गएको टोली चढेको रातो रङको बा१झ १७६४ नम्बरको स्कारपियो बग्यो ।
बाढीमा परेका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामालाई घाइते अवस्थामा उद्धार गरियो । सुरक्षाकर्मी र स्थानीयले इन्जिनियर खनाल र सबहेल्पर लामालाई बग्दाबग्दै उद्धार गरेका थिए । प्राथमिक उपचारपछि उनीहरूलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट थप उपचारार्थ काठमाडौं लगियो । बगेर बेपत्ता हुनेमा आयोजनाका इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा मगर छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने