दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।
विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् । अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन् । गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो रु २५० सम्ममा खरिद बिक्री हुन थालेको छ । चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा रु २५० प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले बताए ।
‘नेपालकै भूमि भएर कुञ्चा (बसाइँसराइ) सर्दा बाटोघाटो थिएन । अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ । चामल किन्न पाइँदैन । केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ’, खातीले सुनाए । उनका अनुसार अहिले छाङ्गरु र तिङ्करमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन् । अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता अन्न खाने गरेका छन् ।
सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ । विगतमा रु ८० देखि ९० प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ । ‘घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्’, स्थानीय गीता बोहराले भने । पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ । समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।
व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी छाङ्गरु र तिङ्करके लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताउनुहुन्छ । यहाँका दुवै गाउँका लागि सदरमुकाम खलङ्गामा खाद्यान्न पुगिसकेको बताउँदै उनले भने, ‘मौसम सफा हुने बित्तिकै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ ।’ दुवै गाउँका लागि सरकारले २ सय क्विन्टल खाद्यान्न पु¥याउँदैछ । अहिले छाङ्गरुमा १ सय १९ घरधुरी र तिङ्करमा ७० घरधुरी छन् भने दर्जन बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन्।
छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न शनिबार हेलिकप्टर प्रस्थान गरे पनि मौसममा सुधार हुन नसक्दा बीच बाटोबाटै फर्किएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवै गाउँमा हेलिकप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी शुरु गर्ने तयारी गरे पनि मौसम खराबी हुँदा हेलिकप्टर ती गाउँमा जान नसकेको हो । शुक्रबार सदरमुकाम खलङ्गामा पुगेको हेलिकप्टरले शनिबार मध्याह्न हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी गरेको थियो । सदरमुकाम खलङ्गाबाट मध्याह्न हिँडेको हेलिकप्टर थि भीरभन्दा माथि जान नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ असार २०७७, १० : ४५
लेखकबाट थप