काठमाडौं । नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ। संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून (०.२१ प्रतिशत ) देखिएको छ ।
यसको खास कारण के हो ? केही विज्ञले नेपालीको खानपान, रहनसहन, क्षयरोगविरुद्ध लगाएको बिसिजी खोप वा रोगप्रतिरोधी क्षमतालाई सम्भावनाका रुपमा देखाएका छन्। तर वास्तविक र यथार्थ कारण कसैले बताउन सकेका छैनन्।
कोभिड–१९ ले विकसित तथा युरोपेली मुलुकमा चारदेखि १५ प्रतिशतसम्म संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरु नेपालमा संक्रमितको तुलनामा धेरै नै कमदरमा मृत्यु हुनु सुखद संयोग मान्छन्।
उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन अनुसन्धान आवश्यक बताउँछन्। यथार्थ कारण थाहा नभए पनि उनीहरुले नेपालमा मृत्युदर कम हुनुमा केही धारणा व्यक्त गरेका छन्। त्यसमध्ये पहिलो हो, संक्रमितमध्ये अधिकांश युवा हुनु। विज्ञका अनुसार उमेर बढी भएका भन्दा युवामा रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ। नेपालमा संक्रमित धेरै युवा भएका कारण विश्वका अन्य मुलुकको तुलनामा मृत्यु दर कम भएको हो।
स्वास्थ्य मन्त्रालयले असार २४ मा प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन्। नेपालमा कुल संक्रमितमध्ये आठ सय ५८ जना ५० वर्षमाथिका र १५ हजार पाँच सय ६५ जना ५० वर्षमुनिका छन्। यस्तै मृत्यु हुनेमा पनि ५० वर्षमुनिका २२ र ५० वर्षमाथिका १३ जना छन्।
नेपालको जनसंख्यामा युवाको हिस्सा बढी छ। सन् २०७७ असार ८ सम्मको केन्द्रीय तथ्यांक विभागको मध्यवर्ष जनसंख्याअनुसार नेपालको कुल जनसंख्या २ करोड ९९ लाख १७ हजार छ। जसमा १५ देखि ५९ वर्ष उमेर समूहको संख्या ६२ दशमलब ६ प्रतिशत छ। ६० वर्ष उमेरभन्दा माथिको जनसंख्या ८ दशमलब ७ प्रतिशत मात्र छ। यस्तै १५ वर्ष उमेरमुनिको संख्या २८ दशमलब ७ प्रतिशत छ।
स्पेन, इटाली, फ्रान्स, बेलायतजस्ता केही युरोपेली राष्ट्रमा कोरोनाबाट वृद्धवृद्धा बढी संक्रमित भएका कारण मृत्युदर बढी भएको बताइएको छ। ती मुलुकमा मृत्यु हुनेमा वृद्धवृद्धाको संख्या बढी छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा मृत्युदर कम हुनुको ठ्याक्कै वैज्ञानिक कारण नभएको बताउँछन्। उनका अनुसार नेपालमा अहिलेसम्म संक्रमितमध्ये धेरै वैदेशिक रोजगारीमा गएका युवा उमेर समूहका छन् र यसले गर्दा मृत्यु दर कम भएको देखिन्छ। ‘कोरोना समुदाय तहमा फैलियो भने कमजोर व्यक्ति र वृद्धवृद्धाको धेरै संख्यामा मृत्यु हुन सक्छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ असार २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै